वर्षाले भारत–पाकिस्तानलाई सेमिफाइनल, नेपालमाथि पनि वर्षाको खतरा

0 Shares

काठमाडौं, असोज १२ । जापानमा जारी एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा लगातार वर्षाले असर पुर्‍याएको छ। वर्षाका कारण क्वार्टरफाइनलका दुई खेल रद्द भएपछि भारत र पाकिस्तान आईसीसी टी–२० वरियताका आधारमा खेल नै नखेली सेमिफाइनलमा प्रवेश गरेका छन्।

भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीच हुने तय भएका क्वार्टरफाइनल खेलमा एक बल पनि फ्याँकिन नसकेपछि दुवै खेल रद्द भएका हुन्। प्रतियोगिता नियमावलीअनुसार वरियतामा माथि रहेका भारत र पाकिस्तान अन्तिम चारमा पुगेका छन्।

अब नेपाली टोलीको ध्यान श्रीलंकाविरुद्ध हुने क्वार्टरफाइनलमा केन्द्रित छ। तर उक्त खेलमा पनि वर्षाको उच्च जोखिम रहेकाले नेपालका लागि चुनौती थपिएको छ। खेल वर्षाका कारण नतिजाविहीन भएमा आईसीसी वरियतामा माथि रहेको श्रीलंका सेमिफाइनलमा पुग्नेछ भने नेपालको यात्रा क्वार्टरफाइनलमै टुंगिनेछ।

जापानको मौसम पूर्वानुमानअनुसार खेल हुने दिन बिहानदेखि वर्षा हुने सम्भावना ८० देखि १०० प्रतिशतसम्म रहेको छ। यद्यपि, बिहानको उत्तरार्धमा मौसममा केही सुधार आउने अनुमान गरिएकाले मैदान खेलयोग्य बनेमा ओभर घटाएर खेल सञ्चालन गर्ने सम्भावना रहेको छ।

आईसीसीको खेल नियमअनुसार दुवै टोलीले कम्तीमा पाँच–पाँच ओभर ब्याटिङ गरेपछि मात्र खेलको नतिजा निकाल्न सकिन्छ। त्यसअघि खेल रद्द भएमा नतिजा आउँदैन।

नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तान र आयोजक जापानलाई पराजित गरेर समूह विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको थियो। अब नेपालको सेमिफाइनल यात्रा मैदानको प्रदर्शनसँगै मौसमको अवस्थामासमेत निर्भर रहने देखिएको छ।

सम्बन्धित समाचार

सबै