साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोको पूर्वी सहर धहरानस्थित प्रशासनिक भवनमा मिसाइल आक्रमण भएको छ। आक्रमणपछि भवनको केही भागमा आगलागी भएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको बताइएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मंगलबार राति भएको आक्रमणमा अरामकोको मुख्य परिसरमा ब्यालिस्टिक मिसाइल प्रहार भएको थियो। आक्रमणबाट कार्यालय भवनका माथिल्ला तीन तलामा क्षति पुगेको कम्पनीका एक अधिकारीले बताएका छन्।
साउदी ऊर्जा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा घटनापछि सम्बन्धित अधिकारीहरूले आवश्यक कदम चालेको जनाएको छ। आक्रमणका कारण भवनमा आगलागी भए पनि मानवीय क्षति नभएको मन्त्रालयको भनाइ छ।
अरामकोको उक्त परिसर कम्पनीको प्रमुख सञ्चालन केन्द्र हो। त्यहाँबाट स्थल तथा समुद्रमा रहेका तेल उत्खनन केन्द्र, पाइपलाइन, प्रशोधन केन्द्र र निर्यात टर्मिनलहरूको सञ्जालको निगरानी गरिन्छ। त्यसैले यो परिसर साउदी अरबको ऊर्जा पूर्वाधारका दृष्टिले महत्त्वपूर्ण मानिन्छ।
आक्रमणपछि साउदी नेतृत्वको सैन्य गठबन्धनले धहरानमा अवरोध गरी नष्ट गरिएको अर्को मिसाइलका टुक्रा आवासीय क्षेत्रमा खसेको जनाएको छ। यसैबीच, राजधानी रियाद तथा देशको दक्षिणी क्षेत्रमा लक्षित ड्रोन र मिसाइल पनि अवरोध गरी नष्ट गरिएको अधिकारीहरूले बताएका छन्।
साउदी नागरिक सुरक्षा निकायका अनुसार रियादमा दुईवटा हुथी मिसाइल अवरोध गरी नष्ट गरिएपछि खसेका टुक्राले चार जना घाइते भएका छन्। घाइते हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन्। मिसाइलका टुक्राले राजधानीका १५ घरमा सामान्य क्षति पुर्याएको निकायका प्रवक्ताले बताएका छन्।
यसअघि गत शनिबार साउदी राजधानी रियादको विमानस्थलमा भएको मिसाइल आक्रमणमा १३ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। उक्त घटनालाई पछिल्लो एक दशकयता साउदी अरबमा भएको सबैभन्दा घातक आक्रमणका रूपमा वर्णन गरिएको छ। आक्रमणपछि देशका विभिन्न स्थानमा हवाई उडानसमेत प्रभावित भएका थिए।
यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किँदै जाँदा पछिल्लो एक सातादेखि साउदी अरबका महत्त्वपूर्ण संरचनालाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण भइरहेको जनाइएको छ। यमनको गृहयुद्धमा साउदी अरबले सरकारी सेनालाई समर्थन गर्दै आएपछि हुथीहरूले आक्रमण तीव्र बनाएका हुन्।
हुथीहरूले यसअघि यमनको राजधानी सानामा साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणको जवाफ दिने चेतावनी दिएका थिए। हुथी प्रवक्ता याह्या सारीले साउदी अरामकोको धहरानस्थित मुख्यालय र रियादको तेल प्रशोधन केन्द्रलाई सम्भावित निशानाका रूपमा उल्लेख गरेका थिए। समूहले साउदी अरबका तेल उद्योगमा कार्यरत कर्मचारीलाई पनि सम्भावित जोखिम भएका क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो।
यसैबीच, हुथी सञ्चालित अल-मसिरा टेलिभिजनले मंगलबार साउदी नेतृत्वको गठबन्धनले सानाको बाहिरी क्षेत्रमा रहेको यमन पेट्रोलियम कम्पनीको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको जनाएको थियो। गठबन्धनले भने हुथीहरूको साउदी अरब, यमन र अन्तर्राष्ट्रिय जलमार्गलाई खतरामा पार्ने क्षमता कमजोर बनाउने उद्देश्यले उक्त केन्द्रसहित अन्य स्थानमा कारबाही गरिएको जनाएको छ।
साउदी अरबका ऊर्जा पूर्वाधार र महत्त्वपूर्ण सहरी क्षेत्रलाई लक्षित गरी भइरहेका पछिल्ला आक्रमणले क्षेत्रीय सुरक्षा तथा तेल आपूर्तिमा थप जोखिम उत्पन्न गर्न सक्ने चिन्ता बढाएको छ।