काठमाडौं असाेज २८ गते । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई लक्षित गरी आयोजना गर्न लागिएको भेलामा देशभरबाट ३ हजार १६४ जना सहभागी हुने भएका छन्।
भेलाको तयारीका लागि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले सहभागीको संख्या, प्रतिनिधित्व र व्यवस्थापनसम्बन्धी निर्णय गरेको हो। बैठकले राष्ट्रिय कार्यकर्ता भेलालाई अभिमुखीकरणमूलक बनाउने निर्णयसमेत गरेको छ।
निर्धारित कार्यक्रमअनुसार मंसिर २ गते बिहान ११ बजे सुरु हुने भेला मंसिर ३ गते साँझसम्म सञ्चालन हुनेछ। भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटी, स्थानीय तह, जनसंगठन र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ।
सहभागिताको विवरणअनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायबाट ८१ जना सहभागी हुनेछन्। आठ प्रदेश कमिटी, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चबाट ५५ जनाको सहभागिता रहनेछ।
त्यसैगरी, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी तथा राजधानी प्रदेशअन्तर्गतका चार जिल्लाबाट जिल्ला तहका ४४० जना सहभागी हुनेछन्। पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट सबैभन्दा ठूलो समूहका रूपमा एक हजार ५०६ जनालाई सहभागी गराइने बैठकले जनाएको छ।
भेलामा संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना र प्रदेशसभा सदस्य १५५ जना सहभागी हुनेछन्। स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये नगरपालिकाका मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जनाको सहभागिता रहनेछ। विभिन्न जनसंगठनबाट थप ९६ जना सहभागी हुनेछन्।
एमालेले भेलामार्फत पार्टीका विभिन्न तहका नेता तथा प्रतिनिधिलाई अभिमुखीकरण गर्ने र संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउने तयारी गरेको छ। भेलाको व्यवस्थापन तथा सहभागितासम्बन्धी निर्णय कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई जिम्मेवारी दिइने जनाइएको छ।
केन्द्रीय संगठन विभागको आयोजनामा भएको तयारी बैठक पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको थियो। बैठकमा पार्टीका उपमहासचिव लेखराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी थिए।
बैठकमा पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, सांसद क्षितिज थेबे, प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यलगायत करिब ३० जना सहभागी थिए।
राष्ट्रिय कार्यकर्ता भेलालाई एमालेले पार्टीका विभिन्न तहबीच समन्वय, संगठनात्मक अभिमुखीकरण तथा आगामी राजनीतिक गतिविधिका लागि साझा समझदारी निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ।