काठमाडौं, २७ असोज । नेपाली नागरिकलाई इजरायलमा रोजगारी दिलाउने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको घटना सार्वजनिक भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा मन्त्रिपरिषद्को निर्णयजस्तो देखिने नक्कली कागजात बनाएर पीडितलाई विश्वासमा लिई रकम असुलिएको खुलेको हो ।
यो ठगीको शैली नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणसँग मिल्दोजुल्दो देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् ।
प्रहरीका अनुसार इजरायलमा केयर गिभरका रूपमा रोजगारी दिलाउने भन्दै सन् २०२४ मा परीक्षामा सहभागी भएका व्यक्तिहरूलाई लक्षित गरी ठगी गरिएको थियो । नेपाल सरकार र इजरायल सरकारबीच भएको सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत रोजगारीमा जान खोजेका परीक्षार्थीलाई मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर इजरायल पठाइदिने भन्दै रकम उठाइएको आरोप छ ।
अनुसन्धानअनुसार उक्त समूहले मन्त्रिपरिषद्को विशेष निर्णय भएको भन्दै नक्कली कागजात तयार पारेको थियो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नामसमेत जोडेर पीडितलाई विश्वास दिलाउने प्रयास गरिएको प्रहरीको भनाइ छ ।
सन् २०२४ मा सञ्चालित केयर गिभर परीक्षामा ३ हजार ४६१ जना उत्तीर्ण भएका थिए । तीमध्ये प्रतीक्षा सूचीमा रहेका १ हजार १५२ जनालाई लक्षित गर्दै १५६ जनालाई विशेष निर्णयमार्फत तत्काल इजरायल पठाइदिने आश्वासन दिइएको आरोप छ ।
यसरी रोजगारीको आश्वासन दिएर प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँसम्म असुलिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
नक्कली कागजात तयार पार्ने आरोपमा पक्राउ परेका शिवराम श्रेष्ठ र ज्ञानबहादुर कार्कीले भारतीय मूलका जस्ता देखिने एक व्यक्तिको आग्रहमा मन्त्रिपरिषद्को निर्णयजस्तो कागजात बनाएको बयान दिएको अनुसन्धानमा संलग्न अधिकारीको भनाइ छ । उक्त कामबापत उनीहरूले रकम लिएको आरोप छ ।
सीआईबीका अनुसार अहिलेसम्म २२ जनाले आफूहरू ठगीमा परेको भन्दै उजुरी दिएका छन् । उनीहरूबाट मात्रै साढे ६ करोड रुपैयाँ ठगी भएको उजुरी प्राप्त भएको सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपमशमशेर जबराले बताएका छन् ।
अनुसन्धानका क्रममा एकै व्यक्तिबाट साढे दुई करोड रुपैयाँसम्म ठगी भएको पनि खुलेको प्रहरीको भनाइ छ । ती व्यक्तिले अन्य व्यक्तिसँगसमेत इजरायल पठाइदिने भन्दै रकम संकलन गरी पक्राउ परेको समूहलाई बुझाएको अनुसन्धानबाट देखिएको छ ।
रकम बुझाएका व्यक्तिहरू रोजगारीमा जान नपाएपछि अलपत्र परेको बताइएको छ । पीडितको संख्या अझै बढ्न सक्ने भएकाले सीआईबीले सूचना जारी गर्दै ठगीमा परेका अन्य व्यक्तिलाई पनि सम्पर्कमा आउन र उजुरी दिन आग्रह गरेको छ ।
यस प्रकरणमा सीआईबीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले १ असोजमा रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका शिवाकोटीलाई पक्राउ गरेको थियो ।
त्यसपछि मुलपानी क्षेत्रबाट ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए । पछिल्लो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्कालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
सीआईबीका अनुसार खड्काविरुद्ध सुरुमा उजुरी परे पनि अनुसन्धानका क्रममा प्रमाण जुटेपछि पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा खड्का र कांग्रेसका अर्का नेता चौलागाईंबीच यस प्रकरणमा सम्बन्ध देखिएको प्रहरीको दाबी छ ।
यद्यपि, खड्कालाई सोमबार काठमाडौं जिल्ला अदालतले हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ । चौलागाईं भने यसअघि नै पक्राउ परेका थिए ।
प्रहरीका अनुसार पीडितसँग प्रत्यक्ष सम्पर्क गरी रकम उठाउने र अन्य व्यक्तिसँग समन्वय गर्ने गरी समूहका सदस्यहरूले भूमिका बाँडेको देखिएको छ । रकम संकलन गर्ने मुख्य व्यक्तिका रूपमा बालिका खड्काको नामसमेत अनुसन्धानमा आएको प्रहरीले जनाएको छ ।
सीआईबीले सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । त्यसपछि आपराधिक लाभसम्बन्धी कसुरमा समेत अनुसन्धान गरेको प्रहरीले अहिले संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाएको जनाएको छ ।
अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता र समूहगत रूपमा ठगी गरिएको देखिएपछि संगठित अपराधसम्बन्धी कसुर थपिएको प्रहरीको भनाइ छ ।
सरकारी निर्णयको नक्कली कागजात तयार पार्ने, उच्च सरकारी पदाधिकारीको नाम प्रयोग गर्ने र वैदेशिक रोजगारीको आश्वासन दिएर ठूलो रकम असुल्ने शैलीले यो प्रकरणलाई थप गम्भीर बनाएको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको भूमिका र ठगी भएको कुल रकमबारे अनुसन्धान जारी राखेको छ ।