सुर्खेत, असोज २९ । कर्णाली प्रदेश सरकारका ६ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार आफ्नो वेबसाइटमार्फत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार मन्त्रीहरूको सम्पत्तिमा घरजग्गा, सुनचाँदी, बैंक मौज्दात, सेयर लगानी, सवारीसाधन तथा ऋणको अवस्था फरक–फरक देखिएको छ। केही मन्त्रीको आफ्नै नाममा बस्ने घरसमेत छैन भने केहीको परिवारका सदस्यको नाममा घरजग्गा र करोडौँ रुपैयाँ बराबरको सम्पत्ति रहेको विवरणमा उल्लेख छ।
आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईको सम्पत्ति विवरणमा सबैभन्दा बढी सम्पत्ति देखिएको छ भने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का (रोका) को विवरणमा तुलनात्मक रूपमा कम सम्पत्ति उल्लेख छ।
नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा सत्तारूढ नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट गत भदौको पहिलो साता ६ जना मन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री शाहीको सम्पत्ति विवरण यसअघि नै सार्वजनिक भइसकेको थियो।
जलस्रोत तथा ऊर्जा विकास मन्त्री कलबहादुर हमालले विभिन्न व्यक्तिबाट वैदेशिक रोजगार तथा अध्ययनका लागि ८ लाख रुपैयाँ ऋण लिएको र उक्त रकम तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
हुम्लाको अदानचुली गाउँपालिका–५ घर भएका हमालको गाउँमा पुर्ख्यौली घर छ। सुर्खेतको वीरेन्द्रनगर–लाटीकोइलीमा ५ लाख रुपैयाँ मूल्यको जग्गा रहेको उनले खुलाएका छन्। उक्त सम्पत्ति व्यवसायबाट आर्जन गरेको विवरणमा उल्लेख छ।
उनका अनुसार लाटीकोइलीमा रहेको अर्को ९६ वर्गमिटरको जग्गा छोरी–ज्वाइँको नाममा रहेको छ र बैंक प्रयोजनका लागि रोक्का गरिएको छ। हुम्लाको अदानचुली र ताँजाकोटमा २५ कित्ताभन्दा बढी पुर्ख्यौली तथा पैतृक जग्गा रहेको पनि उनले उल्लेख गरेका छन्। ती जग्गाको अंशबन्डा हुन बाँकी छ।
मन्त्री हमालसँग २०५७ सालमा २० हजार रुपैयाँमा खरिद गरेको २ तोला सुन र ४० तोला चाँदी छ। चारवटा बैंक खातामा कुल २ लाख ७० हजार रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ। त्यसमध्ये २ लाख ५० हजार रुपैयाँ वैदेशिक रोजगारबाट प्राप्त भएको र बाँकी रकम तलबबाट बचत गरिएको उनले जनाएका छन्।
उनले आफ्नै जग्गामा उत्पादित धान १५ मुरी, कोदो ३ मुरी, गहुँ तथा मकै ५ मुरी र सिमी तथा कागुनो २ मुरी रहेको उल्लेख गरेका छन्। त्यस्तै, १६ थान राडीपाखी, १५ थान गलैँचा, तामा तथा पित्तलका २०० थान र काँसका १०० थान भाँडाकुँडा रहेको विवरणमा जनाइएको छ।
सामाजिक विकास मन्त्री जितबहादुर मल्ल र उनकी श्रीमती राधिका मल्लको नाममा चारवटा घर तथा विभिन्न १० स्थानमा जग्गाजमिन रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
मन्त्री मल्लको नाममा बाँकेको कोहलपुर नगरपालिका–७ मा ३७४.२५ वर्गमिटर क्षेत्रफलमा बनेको घर छ। उनले उक्त घर ३० लाख रुपैयाँमा खरिद गरेको र त्यसको स्रोत पेसा तथा व्यवसाय रहेको जनाएका छन्।
श्रीमती राधिकाको नाममा मुगुको छायानाथ रारा नगरपालिकामा तीनवटा घर छन्। छायानाथ रारा–२ मा ५० लाख रुपैयाँ मूल्यको घर रहेको छ भने वडा नम्बर १ मा क्रमशः ५ लाख र १५ लाख रुपैयाँमा खरिद गरिएका अन्य दुई घर छन्। ती सम्पत्तिको स्रोत पेसा, व्यवसाय तथा नोकरी रहेको विवरणमा उल्लेख छ।
राधिकाको नाममा छायानाथ राराका विभिन्न वडामा १० स्थानमा जग्गाजमिन रहेको छ। ती जग्गाको कुल खरिद मूल्य ९७ लाख रुपैयाँ रहेको जनाइएको छ। चार स्थानका जग्गा खरिद गर्दा ऋण लिइएको र अन्य जग्गाको स्रोत नोकरी तथा व्यवसाय रहेको विवरणमा उल्लेख छ।
मन्त्री मल्लसँग नोकरी तथा व्यवसायबाट आर्जन गरेको ४ तोला सुन र ५ तोला चाँदी छ। उनको बैंक खातामा ३ लाख रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, श्रीमती राधिकाको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको ६३ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख छ।
उनको सम्पत्ति विवरणमा १ लाख ९० हजार रुपैयाँ मूल्यको मोबाइल, १ लाख रुपैयाँको ल्यापटप र १ लाख ८० हजार रुपैयाँ बराबरको ट्याब्लेट पनि समावेश छन्। ती सामग्री वैदेशिक रोजगारमा रहेका व्यक्तिबाट उपहारस्वरूप प्राप्त भएको जनाइएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कित लामाको सम्पत्ति विवरणमा १० तोला सुन, ११० तोला चाँदी तथा तुषो, मुगा र मोतीका २५ तोला माला रहेको उल्लेख छ। उनका विभिन्न बैंक खातामा २ लाख ३२ हजार रुपैयाँ मौज्दात छ।
उनको नाममा सांग्रिला विकास बैंकमा १५ लाख रुपैयाँ रहेको छ। उक्त रकम श्रीमान्को दुर्घटनामा मृत्यु भएपछि प्राप्त बीमा दाबीबाट आएको विवरणमा जनाइएको छ।
त्यस्तै, छोरा चन्दसिंह कार्कीको नाममा सिटिजन्स बैंकमा ४२ लाख रुपैयाँ रहेको उल्लेख छ। उक्त रकम पनि बुवा चन्दसिंह कार्कीको दुर्घटना बीमा दाबीबाट प्राप्त भएको विवरणमा जनाइएको छ। छोराको नाममा ३ लाख रुपैयाँ मूल्यको मोटरसाइकलसमेत रहेको छ।
हुम्लाको सर्केगाड गाउँपालिका–२ घर भएकी मन्त्री लामाको गाउँमा पैतृक घर छ। सिमकोट–६ मा १७.२५ वर्गमिटर क्षेत्रफलको २५ लाख रुपैयाँ मूल्यको जग्गा आफ्नै नाममा रहेको उनले खुलाएकी छन्। त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर–११ मा ३० लाख रुपैयाँ मूल्यको जग्गा रहेको विवरणमा उल्लेख छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काको आफ्नै नाममा घर नरहेको सम्पत्ति विवरणमा उल्लेख छ। तर, उनको बैंक खातामा करिब ९ लाख रुपैयाँ मौज्दात रहेको छ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ घर भएकी खड्काले आफू अविवाहित रहेको र बुवाआमाको घर भूकम्पका कारण क्षतिग्रस्त भएको जनाएकी छन्। उनले गाउँमा अंशबन्डाबाट चार कित्ता जग्गा प्राप्त गरेको उल्लेख गरेकी छन्।
त्यस्तै, दाङमा १२० वर्गमिटर क्षेत्रफलको ३ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको घडेरी पनि अंशबन्डाबाट प्राप्त भएको विवरणमा जनाइएको छ।
उनको बैंक खातामा बुवाबाट प्राप्त ५ लाख रुपैयाँ र तलब, भत्ता तथा जग्गा बिक्रीबाट जम्मा भएको ४ लाख ४६ हजार रुपैयाँ रहेको उल्लेख छ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का (रोका) को सम्पत्ति विवरणमा बैंक खातामा ९० हजार रुपैयाँ मौज्दात रहेको उल्लेख छ। उनले आफन्तबाट लिएको १२ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको पनि खुलाएकी छन्।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१३ घर भएकी खड्काको गाउँमा कच्ची पुर्ख्यौली घर छ। उनको र मोती रोकाको नाममा ११ कित्ता पुर्ख्यौली जग्गा रहेको विवरणमा उल्लेख छ।
उनले माइतीमा रहँदा कमाएको २ तोला सुन रहेको जनाएकी छन्। विभिन्न कम्पनी तथा संस्थामा ३ लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको र उक्त लगानी सगोलको सम्पत्ति भएको उनले खुलाएकी छन्।
उनको नाममा उल्लेख गरिएका अन्य सम्पत्तिमा एउटा गाई, पाँचवटा बाख्रा र एउटा साधारण मोबाइल सेट रहेका छन्।
सार्वजनिक सम्पत्ति विवरणले कर्णाली प्रदेशका मन्त्रीहरूको घरजग्गा, बैंक मौज्दात, सुनचाँदी, लगानी र ऋणको अवस्थाबारे जानकारी दिएको छ। यद्यपि, सम्पत्ति विवरणमा उल्लेख भएका व्यक्तिगत तथा पारिवारिक सम्पत्तिको स्रोत, स्वामित्व र ऋणको अवस्थालाई सम्बन्धित मन्त्रीहरूले खुलाएको विवरणका आधारमा बुझ्नुपर्ने हुन्छ।