२०औँ एसियाड सम्पन्न, चीन शीर्षमा; नेपाललाई दुई कांस्य

0 Shares

नागोया, असोज १९ गते । चार वर्षपछि कतारको दोहामा भेट्ने वाचासहित जापानको आइची–नागोयामा आयोजित २०औँ एसियन गेम्स (एसियाड) आइतबार सम्पन्न भएको छ।

आइची–नागोयास्थित मिजुहो स्टेडियममा आयोजित भव्य समारोहबीच २०औँ एसियाडको समापन गरिएको हो। समापनसँगै सन् २०३० मा आयोजना हुने २१औँ एसियाडका लागि कतारको दोहालाई आयोजकको झण्डा हस्तान्तरण गरिएको छ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अध्यक्ष शेख बिन जोअन बिन हमाद अल थानीले २०औँ एसियाड समापन भएको घोषणा गर्नुभयो। उहाँले एसियाड सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने आयोजक आइची प्रिफेक्चर र नागोया शहरप्रति धन्यवाद व्यक्त गर्नुभयो।

समापन समारोहमा ओसीए अध्यक्ष थानीले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई एसियाडको झण्डा हस्तान्तरण गर्नुभएको थियो। कतारले यसअघि सन् २००६ मा दोहामा एसियन गेम्स आयोजना गरेको थियो। अब दोस्रोपटक सन् २०३० मा दोहाले एसियाली खेलकुदको आयोजना गर्नेछ।

समापन समारोहमा सन् २०३० मा हुने दोहा एसियाडको प्रवर्द्धनात्मक भिडियोसमेत प्रस्तुत गरिएको थियो। ‘२०३० मा दोहामा भेटौँला’ भन्ने सन्देशसहितको भिडियोमार्फत आगामी एसियाडका लागि वातावरण तयार पारिएको थियो।

१६ दिनसम्म सञ्चालन भएको २०औँ एसियाडमा एसियाका विभिन्न देशका १७ हजारभन्दा बढी खेलाडी तथा अफिसियल सहभागी भएका थिए। विभिन्न खेलका ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

समापन समारोहमा सहभागी राष्ट्रका खेलाडी तथा अफिसियलको मार्चपास्ट, २०औँ एसियाडका मुख्य क्षण समेटिएको भिडियो प्रदर्शन तथा विभिन्न सांस्कृतिक र सांगीतिक प्रस्तुति गरिएको थियो। नेपालबाट तेक्वान्दो, जुडो, कुस्ती लगायत विभिन्न खेलका खेलाडी तथा प्रतिनिधि मार्चपास्टमा सहभागी भएका थिए।

चीनको दबदबा कायमै

२०औँ एसियाडमा पनि चीनले पदक तालिकामा आफ्नो दबदबा कायम राख्दै शीर्ष स्थान हासिल गरेको छ। चीनले १६९ स्वर्ण, ८९ रजत र ८१ कांस्य गरी कुल ३४१ पदक जितेको हो।

यसअघि घरेलु मैदानमा भएको १९औँ एसियाडमा चीनले २०१ स्वर्ण जितेको थियो। यसपटक स्वर्ण संख्या केही घटे पनि चीन पदक तालिकामा स्पष्ट रूपमा पहिलो स्थानमा रह्यो।

आयोजक जापान ८३ स्वर्ण, ८५ रजत र ९१ कांस्य गरी २६९ पदकसहित दोस्रो स्थानमा रह्यो। दक्षिण कोरिया ३९ स्वर्ण, ६३ रजत र ६८ कांस्यसहित तेस्रो तथा भारत २१ स्वर्ण, २७ रजत र ३७ कांस्यसहित चौथो स्थानमा रहे।

नेपाललाई दुई कांस्य

नेपालले २०औँ एसियाडमा २१ खेलमा १३५ खेलाडी सहभागी गराएको थियो। तर नेपालले दुई वटा कांस्य पदकमा मात्र चित्त बुझाउनुपर्‍यो।

नेपालका लागि करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कांस्य पदक जिते। महिला कबड्डी टोलीले लगातार दोस्रोपटक एसियाडमा टिम इभेन्टतर्फ पदक जित्दै आफ्नो उपलब्धिलाई निरन्तरता दिएको छ।

करातेबाट नेपालले धेरै पदकको अपेक्षा गरेको भए पनि पुरुष ८४ केजीमाथिको तौल समूहमा तेन्जिङले मात्र कांस्य जित्न सफल भए। १९औँ एसियाडमा रजत पदक जितेर इतिहास बनाएकी कराते खेलाडी एरिका गुरुङबाट यसपटक स्वर्णको अपेक्षा गरिएको थियो। तर एरिका लगायत अन्य नेपाली कराते खेलाडी पदकविहीन रहे।

दुई कांस्य पदकसहित नेपाल पदक तालिकामा संयुक्त रूपमा ३६औँ स्थानमा रह्यो। यसअघि १९औँ एसियाडमा नेपाल ३३औँ स्थानमा रहेको थियो।

एसियाडमा सहभागी ४५ राष्ट्रमध्ये भुटान, माल्दिभ्स, प्यालेस्टाइन, टिमोर–लेस्टे र यमन तथा रिफ्युजी टिमले भने कुनै पनि पदक जित्न सकेनन्।

अब एसियाली खेलकुदको अर्को भेट सन् २०३० मा कतारको दोहामा हुनेछ।

सम्बन्धित समाचार

सबै