नेपालद्वारा ओमान ११३ रनले पराजित, लिग–२ मा लगातार दोस्रो जित

0 Shares

काठमाडौं असाेज २७ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २६४ रनको लक्ष्य पछ्याएको ओमान ३९.६ ओभरमा १५० रनमै समेटिएपछि नेपालले फराकिलो जित निकालेको हो ।

ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । जय ओडेद्राले २५ र जतिन्दर सिंहले १८ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिए । दीपेन्द्र सिंह ऐरीले दुई विकेट लिँदा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६७ बलको सामना गरेका थिए ।

करण केसीले आक्रामक ब्याटिङ गर्दै केवल १६ बलमा ४० रन जोडे । उनको इनिङ्समा चार छक्का र एक चौका समावेश थियो । अर्जुन कुमालले ४०, इर्शान पाण्डे र बसिर अहमदले समान ३७ तथा दीपेन्द्र सिंह ऐरीले २२ रन बनाए ।

ओमानका बलर शकिल अहमद, करण सोनाभेल र शाह फैसलले दुई–दुई विकेट लिए भने हसनइन शाहले एक विकेट हात पारे ।

यसअघि यही लिग–२ अन्तर्गतको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो । ओमानविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

सम्बन्धित समाचार

सबै