काठमाडौं, असोज २५ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ।
ओमान क्रिकेट एकेडेमीको मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा समेटियो। नेपालको जितमा बलरहरूले महत्त्वपूर्ण योगदान दिए।

क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे। नेपालका करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालको इनिङ्सलाई कप्तान रोहित पौडेलको शतकले मजबुत बनाएको थियो।
रोहितले १२७ बलमा आठ चौका र एक छक्कासहित १०१ रन बनाए। गुल्शन झाले ३४ बलमा आक्रामक ४८ रन जोड्दा अर्जुन कुमालले २३ रनको योगदान दिए।
क्यानडाका अखिल कुमारले चार विकेट लिए। सुख्जिन्दर सिंहले तीन तथा जहिर शिर्जादले दुई विकेट हात पारे।
अंकतालिकामा नेपाल छैटौँ स्थानमा
क्यानडाविरुद्धको जितपछि नेपालले लिग–२ को अंकतालिकामा आफ्नो स्थिति सुधार गरेको छ। उपलब्ध विवरणअनुसार नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा पुगेको छ। क्यानडा भने ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ।
यसअघि शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो। लिग–२ को शीर्ष चारमा पुग्ने नेपालको सम्भावना समाप्त भइसकेकाले अब टोलीको मुख्य ध्यान एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनेतर्फ केन्द्रित हुनेछ।
क्यानडाविरुद्धको जितले नेपाललाई अंक थप्न मद्दत गरे पनि ओडीआई मान्यता कायम राख्न बाँकी खेलमा समेत राम्रो प्रदर्शन गर्नुपर्ने चुनौती छ।