काठमाडौं असोज २२ गते । भारतले नेपालका लागि नयाँ राजदूतमा करिअर कूटनीतिज्ञ सुधाकर दलेलालाई सिफारिस गरेको छ। बुधबार भारतले दलेलालाई नेपालका लागि आफ्नो नयाँ राजदूतका रूपमा अघि सारेको हो।
दलेला भारतीय विदेश सेवामा करिब २३ वर्षदेखि कार्यरत छन्। उनले एसिया, युरोप, उत्तर अमेरिका र ल्याटिन अमेरिकाका विभिन्न मुलुक तथा कूटनीतिक नियोगमा जिम्मेवारी सम्हालिसकेका छन्।
उनको कूटनीतिक करिअर इजरायलबाट सुरु भएको थियो। त्यसपछि उनले बंगलादेशमा पनि जिम्मेवारी सम्हाले। युरोपमा उनले जेनेभामा काम गरेका छन्।
उत्तर अमेरिकामा दलेला अमेरिकाको सिकागोस्थित भारतीय महावाणिज्य दूतावासमा महावाणिज्यदूत तथा वासिङ्टन डीसीस्थित भारतीय नियोगमा उपप्रमुखका रूपमा कार्यरत थिए। दक्षिण अमेरिकामा उनले ब्राजिलमा समेत काम गरेका छन्।
दलेला भारतको विदेश मन्त्रालयमा सचिव तहका अधिकारी हुन्। यसअघि उनले तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको कार्यकालमा प्रधानमन्त्री कार्यालयमा समेत काम गरेका थिए।
दक्षिण एसियाली मुलुकसँग काम गरेको अनुभवसमेत रहेका दलेलाको नेपालका लागि राजदूतका रूपमा सिफारिसलाई भारत–नेपाल कूटनीतिक सम्बन्धको सन्दर्भमा महत्वपूर्ण नियुक्तिका रूपमा हेरिएको छ।
अब नेपालको सम्बन्धित प्रक्रियापछि उनको नियुक्ति औपचारिक रूपमा अघि बढ्नेछ।