भारतमा मतदाता नामावली विवादलाई लिएर लगातार तेस्रो दिन प्रदर्शन

0 Shares

नयाँदिल्ली । भारतमा मतदाता नामावलीमा भएको भनिएको विवादित फेरबदलको विरोधमा आइतबार पनि सरकारविरुद्ध प्रदर्शन भएको छ। प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताको नाम हटाएको आरोप लगाउँदै नयाँदिल्लीमा लगातार तेस्रो दिन प्रदर्शन गरिएको हो।

प्रदर्शनकारीहरूले प्रमुख निर्वाचन आयुक्त कुमारको तत्काल राजीनामा माग गरेका छन्। प्रदर्शनमा विद्यार्थी, नागरिक अभियन्ता तथा विपक्षी राजनीतिक दलका कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

प्रदर्शनलाई नियन्त्रणमा लिन दिल्लीमा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (एआइएसए)ले दिउँसो ३ बजे आयोजना गरेको नागरिक मार्चमा महिला सुरक्षासहित विभिन्न विषय उठाइएको थियो। प्रहरीले प्रदर्शनकारीलाई इन्डिया गेटबाट जन्तरमन्तरसम्म मार्च गर्न भने रोक लगाएको थियो।

यसअघि शनिबार जन्तरमन्तरमा निर्वाचन आयोगविरुद्ध भएको प्रदर्शनका क्रममा दिल्ली प्रहरीका अधिकारीहरूले महिला विद्यार्थी तथा पत्रकारमाथि दुर्व्यवहार गरेको एआइएसएले आरोप लगाएको थियो। संगठनले प्रहरीमाथि कुटपिट तथा यौन दुर्व्यवहार गरेको आरोपसमेत लगाएको छ।

एआइएसएले सामाजिक सञ्जालमार्फत शनिबारको प्रदर्शनमा महिला विद्यार्थी तथा पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको दाबी गर्दै घटनाको छानबिनको माग गरेको छ।

यता दिल्ली प्रहरीले भने प्रदर्शनका क्रममा तीन महिला पत्रकारले प्रहरी अधिकारीविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउँदै उजुरी दिएको जनाएको छ। नयाँदिल्ली जिल्ला प्रहरीले प्राप्त उजुरीलाई निष्पक्ष तथा तटस्थ अनुसन्धानका लागि क्राइम ब्रान्चमा पठाइएको जनाएको छ।

यसैबीच इन्डियन युथ कांग्रेस (आइवाइसी)ले पनि आइतबार साँझ नयाँदिल्लीमा विरोध मार्च निकालेको छ। मार्चका क्रममा युथ कांग्रेसका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका थिए।

मतदाता नामावलीको संशोधन तथा नाम हटाइएको विषयलाई लिएर भारतमा निर्वाचन आयोग र सरकारमाथि विपक्षी दल तथा विभिन्न नागरिक समूहले प्रश्न उठाउँदै आएका छन्। घटनाक्रमसँगै मतदाता नामावलीको पारदर्शिता र निर्वाचन प्रक्रियाको विश्वसनीयताबारे बहस थप चर्किएको छ।

सम्बन्धित समाचार

सबै