विश्वकप लिग–२ : नेपालले आज क्यानडासँग खेल्दै

0 Shares

काठमाडौं, ३१ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमेरतस्थित अल अमेरत क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपालले यस शृङ्खलामा यसअघि खेलेका दुवै खेलमा जित निकालेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई र दोस्रो खेलमा घरेलु टोली ओमानलाई पराजित गरेको थियो ।

लिग–२ को अंकतालिकामा नेपाल छैटौँ स्थानमा छ । नेपालले ३४ खेलबाट २८ अंक जोडेको छ । सातौँ स्थानमा रहेको क्यानडाको ३५ खेलबाट २७ अंक छ ।

शृङ्खलाको सुरुआती दुई खेलमा ओमान र नेपालसँग पराजित भएको क्यानडाले बिहीबार ओमानलाई हराउँदै पुनरागमन गरेको थियो । क्यानडाको उक्त जितपछि नेपालको शीर्ष ६ मा रहने स्थान तत्कालै सुनिश्चित हुन सकेको छैन ।

आजको खेल नेपालका लागि अंकतालिकामा आफ्नो स्थान सुरक्षित गर्ने महत्त्वपूर्ण अवसर हो । क्यानडालाई पराजित गर्न सके नेपालले लिग–२ को शीर्ष ६ मा आफ्नो स्थान पक्का गर्नेछ ।

यदि नेपाल आजको खेलमा पराजित भएमा शीर्ष ६ मा स्थान सुरक्षित गर्न सोमबार हुने अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ । त्यसैले आजको खेलले नेपालको लिग–२ यात्रामा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

सम्बन्धित समाचार

सबै