काठमाडौं असाेज ३१ गते । बडादसैँ मनाउन काठमाडौं उपत्यका छाडेर आफ्नो गृहजिल्ला जाने यात्रुको संख्या दिनहुँ बढिरहेको छ। पछिल्लो सात दिनमा चार लाख ३१ हजारभन्दा बढी यात्रुले उपत्यका छाडेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ देखि २९ गतेसम्म ४ लाख ३१ हजार ४९२ जना यात्रु उपत्यकाका विभिन्न नाका हुँदै बाहिरिएका छन्।
ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार बिहीबार मात्रै ८५ हजार ५६१ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए। त्यस्तै, बुधबार ७४ हजार ९४७ र मंगलबार ७८ हजार १३८ जनाले उपत्यका छाडेका थिए।
शुक्रबार पनि उपत्यका छाड्ने यात्रुको चाप उच्च रहेको प्रहरीले जनाएको छ। शनिबारसम्म यात्रुको चाप कायम रहने र त्यसपछि क्रमशः घट्ने अनुमान गरिएको एसपी सुवेदीले बताए।
दसैँ मनाउन काठमाडौं उपत्यकामा बसोबास गर्ने नागरिक आफ्नो जन्मथलो तथा गृहजिल्ला फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ। विगतका वर्षमा दसैँका बेला औसतमा १० लाखसम्म मानिसले उपत्यका छाड्ने गरेका थिए।
चाडपर्वका बेला हुन सक्ने सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्था जाँचलाई तीव्र बनाएको छ। बसपार्क क्षेत्रमा सवारीसाधनको प्राविधिक जाँच गरेर मात्रै गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
एसपी सुवेदीका अनुसार जाँचका क्रममा ९६ वटा सवारीसाधन यान्त्रिक रूपमा सञ्चालनका लागि अनुपयुक्त पाइएका थिए। ती सवारीसाधनलाई कारबाही गरी आवश्यक मर्मत गराएपछि मात्रै सञ्चालन गर्न अनुमति दिइएको छ।
लामो दूरीका सवारीसाधनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले दिउँसोको समयमा समेत मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन (लापसे) जाँच गरिरहेको छ। असोज २५ गतेयता मापसेमा ४५५ जना र लापसेमा १८ जना चालक कारबाहीमा परिसकेका छन्।
त्यस्तै, लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने व्यवस्थालाई पनि प्रहरीले कडाइका साथ कार्यान्वयन गराइरहेको छ।
दसैँमा यात्रुको चाप बढेसँगै सुरक्षित यात्रा सुनिश्चित गर्न सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य तथा मादक पदार्थ सेवनसम्बन्धी जाँचलाई प्रभावकारी बनाइएको ट्राफिक प्रहरीले जनाएको छ।