काठमाडौँ, असोज २६ गते । दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण सुरु गर्न माग बढेको छ । चाडपर्वमा पानीको खपत बढ्ने भए पनि मेलम्चीको पानी वितरण अझै सुरु नहुँदा उपभोक्ता ट्याङ्कर र जारको महँगो पानी किन्न बाध्य भएका छन् ।

गत वर्ष असोज २० गतेदेखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । तर यस वर्ष बर्खायाम सुरु भएसँगै बाढीपहिरोको जोखिमका कारण बन्द गरिएको वितरण सेवा अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । धाप ड्यामबाट सातामा एक–दुई दिन पानी वितरण भए पनि सबै क्षेत्रमा पर्याप्त पानी पुग्न नसकेको उपभोक्ताको गुनासो छ ।
चाडपर्वमा घरआँगन सफा गर्ने, पाहुनाको आगमन हुने तथा धार्मिक र सांस्कृतिक गतिविधि बढ्ने भएकाले सामान्य समयभन्दा पानीको माग बढी हुन्छ । तर काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को नियमित आपूर्ति कमजोर हुँदा उपत्यकावासीलाई दैनिक आवश्यकता पूरा गर्नसमेत कठिन भइरहेको छ ।
मेलम्ची खानेपानी सङ्घर्ष समिति, काठमाडौँका संयोजक गोविन्द पन्तले चाडपर्वलाई ध्यानमा राख्दै मेलम्चीको पानी यथाशीघ्र वितरण गर्नुपर्ने बताएका छन् । उनले आयोजनामा पानी छोड्न सकिने अवस्था हुँदाहुँदै वितरणमा ढिलाइ भइरहेको आरोप लगाए ।
‘मेलम्चीखोलाको पानी सफा छ । मुहान खोल्नका लागि एक्साभेटर त्यहीमाथि नै छ । आयोजनाले चाहेमा मेलम्चीको पानी छोड्न सकिन्छ,’ पन्तले भने, ‘एकातिर मेलम्चीको पानी त्यत्तिकै बगेर गइरहेको छ भने अर्कोतिर जनता महँगो पानी किनेर खान बाध्य छन् ।’
पन्तका अनुसार सङ्घर्ष समितिका प्रतिनिधिसँगको भेटमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले आगामी १० दिनभित्र पानी वितरण सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । तोकिएको अवधिमा वितरण सुरु नभए आन्दोलनमा जाने चेतावनीसमेत समितिले दिएको उनले बताए ।
सङ्घर्ष समितिका सदस्य तथा सरसफाइ अभियन्ता नारायण गिरीले पानी वितरण बन्द हुँदा आयोजनाबाट प्राप्त हुन सक्ने राजस्वसमेत प्रभावित भएको बताएका छन् । उनका अनुसार आयोजनामा ठूलो लगानी भइसकेको अवस्थामा पानी वितरण नहुँदा राज्य र उपभोक्ता दुवैलाई असर परेको छ ।
गिरीले ट्याङ्करको पानी प्रयोग गर्दा उपभोक्तामाथि आर्थिक भार बढ्नुका साथै पानीको गुणस्तरबारे पनि चिन्ता रहने बताए । मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरेर वितरण गरिने भए पनि निजी ट्याङ्करबाट आपूर्ति हुने पानीको गुणस्तर सुनिश्चिततामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
ललितपुरको सानेपाका स्थानीय बासिन्दा राकेश मेहताले धारामा नियमित पानी नआउँदा महँगो मूल्यमा जार र ट्याङ्करको पानी किन्नुपरेको बताए ।
‘चाडपर्व घरदैलोमा आइसक्यो तर धारामा हप्तामा एक दिन पनि पानी आउँदैन । महँगो मूल्यमा जार र ट्याङ्करको पानी किन्न बाध्य छौँ,’ उनले भने, ‘दसैँअगाडि नै मेलम्चीको पानी आउँछ भनेर आश्वासन पाएका थियौँ तर काममा ढिलाइ भइरहेको देखिन्छ ।’
मेलम्चीको पानी वितरण बन्द भएपछि निजी पानी व्यवसायीले माग बढेको मौका छोपेर मनपरी मूल्य लिने गरेको उपभोक्ताको आरोप छ । पानीको गुणस्तरमा समेत पर्याप्त ध्यान नदिइएको उनीहरूको गुनासो छ ।
भूमिगत पानीका स्रोत सुक्दै जाँदा इनार र ढुङ्गेधारामा समेत पानी पाउन कठिन भएको छ । यसको प्रत्यक्ष असर विपन्न परिवार र डेरामा बस्ने नागरिकलाई बढी परेको उपभोक्ताको भनाइ छ ।
मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी मधु तिमिल्सिनाले यस वर्ष बर्खा पूर्ण रूपमा नरोकिएको र मेलम्चीखोलाको बहावमा पर्याप्त कमी नआएकाले पानी वितरण सुरु गर्न नसकिएको बताएका छन् ।
उनका अनुसार बाढीका कारण आयोजनाको मुहानसम्म पुग्ने पहुँचमार्ग क्षतिग्रस्त भएको छ । बाटोको अवस्था बिग्रिएकाले एक्साभेटरलगायत आवश्यक उपकरण लिएर हेडवर्क्ससम्म पुग्न कठिन भएको उनले बताए ।
‘आयोजनाको मुहानसम्म पुग्ने बाटो अहिले स्थानीय तहले पुनर्निर्माण गरिरहेका छन् । खोलाको बहाव कम र पहुँचमार्ग निर्माण भएसँगै सुरुङमा पानी पथान्तरण गरिने छ,’ तिमिल्सिनाले भने ।
आयोजनाका अनुसार खोलाको बहाव र पहुँचमार्गको अवस्था अनुकूल भएपछि मात्रै सुरुङमा पानी पठाएर वितरण प्रक्रिया अघि बढाइनेछ । उता उपत्यकावासी भने चाडपर्वअघि नै नियमित पानी आपूर्ति सुरु हुने प्रतीक्षामा छन् ।
