चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ

0 Shares

काठमाडौं असाेज २० गते। आगामी चाडपर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायातलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन विभिन्न सात निर्णय गरेको छ। चाडपर्वमा घर फर्किने यात्रुको चापलाई ध्यानमा राख्दै मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको हो।

बैठकले घटस्थापना अर्थात् असोज २५ गतेदेखि कात्तिक ८ गते पूर्णिमासम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। सडकमा यातायातको चाप कम गरी यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

तर खाद्यान्न, औषधि, फलफूललगायत अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई भने उक्त सडकखण्डमा आवतजावत गर्न रोक नलगाइने भएको छ।

यात्रुवाहक सार्वजनिक सवारी साधनको सहज सञ्चालनका लागि घटस्थापनादेखि कात्तिक १० गतेसम्म देशभर रुट परमिट खुला गर्ने निर्णय पनि गरिएको छ। यसबाट चाडपर्वका समयमा यात्रुको बढ्दो चापअनुसार सवारी साधन सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

त्यस्तै, काठमाडौं उपत्यकाका प्रमुख प्रवेश नाकामा यात्रुको सहजीकरणका लागि यातायात व्यवस्था विभागका फोकल पर्सनसहितको टोली परिचालन गरिने भएको छ। यातायात व्यवसायीका तर्फबाट समेत सम्पर्क व्यक्ति खटाइने निर्णय गरिएको छ।

चाडपर्वका बेला नयाँ बसपार्क क्षेत्रमा मोबाइल नेटवर्कमा उच्च ट्राफिक हुने भएकाले नेपाल टेलिकमलगायत सेवा प्रदायक कम्पनीलाई नेटवर्कको क्षमता वृद्धि तथा विस्तार गर्न पत्राचार गर्ने निर्णय गरिएको छ।

रिजर्भमा जाने सवारी साधन तथा यात्रुको विवरण व्यवस्थित रूपमा अभिलेख राख्न यातायात व्यवस्था विभागले नमुना फाराम तयार गरी यातायात व्यवसायीलाई उपलब्ध गराउने भएको छ। व्यवसायीले उक्त फाराममा आवश्यक विवरण प्रविष्ट गरेपछि मात्र रिजर्भ यातायात सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी, चाडपर्वका बेला सञ्चालन हुने सार्वजनिक सवारी साधनको फिटनेस परीक्षणलाई प्रभावकारी बनाउन नाडा र सिप्रदीलाई अनुरोध गर्ने निर्णय भएको छ। विभागका तर्फबाट टेकुस्थित सवारी परीक्षण कार्यालयबाट समेत प्राविधिक कर्मचारी परिचालन गरिने भएको छ।

सरकार तथा सरोकारवालाले गरेका यी निर्णयबाट चाडपर्वका समयमा यात्रुको बढ्दो चाप व्यवस्थापन, सडक सुरक्षा, सार्वजनिक यातायातको नियमित सञ्चालन तथा यात्रुको आवागमनलाई थप व्यवस्थित बनाउने लक्ष्य लिइएको छ।

सम्बन्धित समाचार

सबै