नारायणी नदीमा बाढीले क्रुजसिप बगायो, पुलको पिलरमा ठोक्किएपछि आवागमन बन्द

0 Shares

काठमाडौं, असोज ११ गते । चितवनस्थित नारायणी नदीमा राखिएको एक क्रुजसिप आइतबार आएको बाढीले बगाएको छ। बगेर आएको क्रुजसिप नारायणी नदीमाथिको पुलको गैंडाकोटतर्फको पिलरमा ठोक्किएर अड्किएपछि सुरक्षा सतर्कता अपनाउँदै पुलबाट सवारी आवागमन रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार बाढीले बगाएको क्रुजसिप पुलको पिलरमा अड्किएको छ। नदीमा पानीको बहाव र सतह निरन्तर बढिरहेकाले पुलको सुरक्षालाई ध्यानमा राख्दै तत्कालका लागि सवारी सञ्चालन बन्द गरिएको उनले बताए।

‘क्रुजसिप पुलको गैंडाकोटपट्टिको पिलरमा अड्किएको छ। पानीको सतह बढ्दै गएकाले जोखिम पनि बढिरहेको छ,’ एसपी पौडेलले जानकारी दिए।

प्रहरीका अनुसार नदीमा पानीको बहाव अझै उच्च रहेकाले अवस्था निरन्तर निगरानीमा राखिएको छ। पुलको संरचनामा भएको सम्भावित असरको मूल्याङ्कन तथा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले आवश्यक समन्वय गरिरहेको जनाइएको छ।

सम्बन्धित समाचार

सबै