काठमाडौं, असोज ११ गते । अविरल वर्षापछि आएको बाढीपहिरोले देशभर जनधनको क्षति बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन सुरु भएयता बाढीपहिरो र वर्षाजन्य विपद्का घटनामा परी हालसम्म १२ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै ६ जनाले ज्यान गुमाएका छन्।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मृत्यु हुनेमा पाल्पा, सिराहा, सुर्खेत, रोल्पा, बागलुङ, रुकुम पश्चिम, काभ्रेपलाञ्चोक र मकवानपुरका नागरिक रहेका छन्। साथै, असोज ९ गतेदेखि पाल्पाकी एक महिला बेपत्ता रहेको जानकारी पनि प्राधिकरणले दिएको छ।
यता, अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा रुख ढल्दा देशका विभिन्न भागका प्रमुख राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्राधिकरणले शनिबार दिउँसो १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
बागमती प्रदेशमा सबैभन्दा बढी प्रभाव
बागमती प्रदेशमा पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर, परेवाभिर र टिडरासखानी तथा चितवनको धारापानी क्षेत्रमा पहिरो र सडक भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
कान्ति लोकपथको ललितपुर र मकवानपुर खण्ड, बीपी राजमार्गको काभ्रेपलाञ्चोक तथा सिन्धुली क्षेत्र, रसुवागढी–त्रिशुली–मैलुङ सडक र काठमाडौं जोड्ने सडकखण्डमा पनि बाढी तथा पहिरोका कारण सवारीसाधन सञ्चालन हुन सकेको छैन।
गण्डकी, लुम्बिनी र कर्णालीका सडक पनि ठप्प
गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, तनहुँ, लमजुङ र बागलुङका विभिन्न सडकखण्ड पहिरोका कारण अवरुद्ध छन्। चामे–बेशीशहर, जोमसोम–कोरला, बेनी–जोमसोम तथा मध्यपहाडी राजमार्गका निसिखोला, बडिगाड र ढोरपाटन खण्डमा सवारी आवागमन रोकिएको छ। पर्वतको तमादी खोलामा भने पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ।
लुम्बिनी प्रदेशको कालिगण्डकी करिडोर तथा कर्णाली प्रदेशको कर्णाली राजमार्ग, राप्ती राजमार्ग र भेरी करिडोरका विभिन्न सडकखण्डमा पनि पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार अवरुद्ध सडक खुलाउने, पहिरो पन्छाउने तथा क्षतिग्रस्त संरचनाको मर्मत गर्ने कार्य सम्बन्धित निकायबाट निरन्तर भइरहेको छ। मौसम अझै प्रतिकूल रहेकाले नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र तथा लामो दूरीको यात्रामा विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।