काठमाडौं ३० फागुन । नेपाली औषधि उद्योगको विकास, प्राविधिक सुधार तथा व्यापार प्रवर्द्धनका लागि नेपाल र भारतका निकायबीच द्विपक्षीय सहकार्य गर्ने सहमति भएको छ।

नेपाल फर्मा एक्स्पो २०८२को अवसरमा नेपाल औषधि उद्योग र इन्जिनियरिङ निर्यात प्रवर्द्धन परिषद् (ईईपिसी) बीच उक्त सहमति भएको हो।
सहमति अनुसार दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यावहारिक, सामाजिक र प्राविधिक रूपमा सुदृढ बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा सहकार्य गर्नेछन्। औषधि उत्पादन क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधि तथा व्यावसायिक सीप आदानप्रदान गर्न दुवै देशका प्रतिनिधिहरूबीच नियमित सेमिनार र गोष्ठी आयोजना गरिने बताइएको छ।
सम्झौतामा औषधि उद्योगको विकासका लागि औद्योगिक भ्रमण आदानप्रदान गर्ने तथा व्यापार व्यवसायलाई विस्तार गर्न एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यो सहकार्यले नेपाली औषधि उत्पादकहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रविधिमा पहुँच दिलाउन तथा स्वदेशी उद्योगको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। भारत सरकारको ईईपिसीसँगको साझेदारीले नेपालको औषधि क्षेत्रमा नयाँ अवसर र सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।














