अविरल वर्षाले ६ मुख्य राजमार्ग अवरुद्ध, उच्च सतर्कता अपनाउन आग्रह

0 Shares

काठमाडौं, साउन २ गते ।  देशभर जारी अविरल वर्षाका कारण बाढी र पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याउँदा छ वटा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। प्रभावित सडक खुलाउने प्रयास जारी रहे पनि वर्षा नरोकिएकाले यातायात सञ्चालनमा कठिनाइ भएको छ।

नेपाल प्रहरीका अनुसार पहिरो र बाढीका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी–ढोरपाटन सडक, अरनिको राजमार्ग तथा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएका छन्।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा ठूलो पहिरो खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

त्यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर वर्षाका कारण काम प्रभावित भएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी–पहिरो र डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न, नदी किनार तथा पहिरोको सम्भावना भएका क्षेत्रमा सचेत रहन र मौसम तथा सडक अवस्थाबारे सम्बन्धित निकायको सूचना पालना गर्न अनुरोध गरेको छ। सडक अवरुद्ध भएका स्थानमा प्रहरी, स्थानीय प्रशासन र सडक विभागले यातायात पुनः सञ्चालनका लागि आवश्यक पहल गरिरहेका छन्।

सम्बन्धित समाचार

सबै