काठमाडौं, असार ३२ । साविक विश्वविजेता अर्जेन्टिनाले शानदार पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। एटलान्टा स्टेडियममा सम्पन्न रोमाञ्चक सेमिफाइनलमा अन्तिम समयमा दुई गोल गर्दै अर्जेन्टिनाले लगातार दोस्रोपटक फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो।
खेलको ५५औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि अर्जेन्टिनाले लगातार आक्रमण गरे पनि बराबरी गोल गर्न संघर्ष गर्नुपरेको थियो।
खेलको ८५औँ मिनेटमा कप्तान लियोनेल मेसीको उत्कृष्ट पासमा एन्जो फर्नान्डेजले डिबक्सबाहिरबाट आकर्षक प्रहार गर्दै गोल गरेपछि अर्जेन्टिना खेलमा फर्कियो।
त्यसपछि दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा पुनः मेसीकै निर्णायक पासमा लाउटारो मार्टिनेजले विजयी गोल गर्दै अर्जेन्टिनालाई २–१ को अविस्मरणीय जित दिलाए।
खेलभर अर्जेन्टिनाले बल पोजिसन र आक्रमणमा स्पष्ट दबाब बनायो। अर्जेन्टिनाको ५ प्रहार लक्ष्यमा रहेको थियो भने इंग्ल्यान्डले २ प्रहार मात्र लक्ष्यमा राख्न सक्यो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट कुल २६ वटा फाउल भएका थिए।
यस हारसँगै सन् १९६६ को विश्वविजेता इंग्ल्यान्ड तेस्रोपटक विश्वकपको सेमिफाइनलबाट बाहिरिएको छ। उता, तीन पटकको विश्वविजेता अर्जेन्टिना भने इतिहासमा सातौँपटक विश्वकपको फाइनलमा प्रवेश गर्न सफल भएको छ।
अब अर्जेन्टिनाले विश्वकप उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यसहित अर्जेन्टिना फाइनलमा उत्रिनेछ।