भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

0 Shares

 काठमाडौं २२ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ।

भदौ १८ गते सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। निर्णयअनुसार आज नेपालका सरकारी कार्यालयसँगै विदेशस्थित नेपाली दूतावास तथा नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार साँझसम्म बाढीमा परी मृत्यु भएकामध्ये १ हजार ३४२ जनाको शव फेला परेको छ। अझै ३ हजार ९९२ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला र ४९५ शवको पहिचान खुल्न सकेको छैन। सम्पर्कविहीनमध्ये स्वदेशी नागरिकतर्फ २ हजार ८२७ पुरुष र ५६७ महिला छन्। यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला अझै सम्पर्कविहीन रहेको प्रहरीको विवरण छ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको काम सुरक्षा निकायले निरन्तर गरिरहेको छ। प्रहरीले फेला परेका शवमध्ये १ हजार ४४ शव सुरक्षित रूपमा जमिनमा व्यवस्थापन गरिएको जनाएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया जारी छ।

बाढीपछि हालसम्म ९ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई सुरक्षित रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिएका छन्।

बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखतका लागि प्रहरीले डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म मृतक १ हजार १८१ जना र उनीहरूका आफन्त १ हजार १९५ जनासहित २ हजार ३७६ जनाको डीएनए नमुना संकलन गरिएको छ।

बेपत्ताको खोजी, उद्धार तथा शवको पहिचान र व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलसहित सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्।

 फाेटाे ः AI बाट तयार पारिएकाे हाे । 

सम्बन्धित समाचार

सबै