काठमाडौं कात्तिक ६ गते । आगामी बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै स्थानमा वर्षा हुने सम्भावना देखिएपछि मौसमविद्ले किसानलाई धान काट्ने काममा सावधानी अपनाउन सुझाव दिएका छन्। बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा झरी पर्नुका साथै केही क्षेत्रमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षाको सम्भावना बढी छ। वर्षाका कारण पाकेको धान भिज्ने तथा भित्र्याउन कठिनाइ हुन सक्ने भएकाले किसानले मौसमको अवस्था हेरेर कृषि कार्यको योजना बनाउनुपर्ने उनले बताएका छन्।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत धान पाकिसकेको अवस्थामा काट्ने, सुकाउने र सुरक्षित रूपमा भित्र्याउन समय पुग्ने भए मंगलबारअगावै काम सक्ने योजना बनाउन सुझाव दिएका छन्।
उनले सम्भावित वर्षालाई ध्यानमा राख्दै स्थानीय मौसमको पूर्वानुमानलाई प्राथमिकता दिन किसानलाई आग्रह गरेका छन्। काटिसकेको धान वर्षामा भिज्दा क्षति हुन सक्ने भएकाले धान काट्ने र भित्र्याउने काममा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
मौसमविद् पोखरेलले उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुनुका साथै चिसो बढ्न सक्ने सम्भावना पनि औँल्याएका छन्। हिमाली क्षेत्रमा यात्रा तथा ट्रेकिङमा जाने पर्यटकलाई मौसमको नियमित जानकारी लिएर मात्रै यात्रा योजना बनाउन उनले सुझाव दिएका छन्।
उनका अनुसार बंगालको खाडीमा बन्न सक्ने न्यूनचापीय प्रणाली चक्रवातमा विकसित हुने सम्भावना छ। उक्त प्रणालीको प्रभावले बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै स्थानमा वर्षा हुन सक्ने र केही क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसपटक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाको प्रभाव पनि देखिएको पोखरेलले बताएका छन्। यी प्रणालीको अनुकूल संयोगले ओसिलो हावा माथितिर उठ्ने प्रक्रियालाई बलियो बनाउँदा भारी वर्षाको सम्भावना बढ्न सक्ने उनको विश्लेषण छ।
मौसमविद् पोखरेलका अनुसार करिब एक महिनाअघि पनि यस्तै मौसमी प्रणालीका कारण नेपालमा भारी वर्षा भएको थियो। त्यतिबेला पूर्वानुमान गरिएको समयभन्दा एक दिनअघि नै वर्षा सुरु भएको उनले स्मरण गराएका छन्।
यसपटक पनि वर्षा सुरु हुने समय, प्रभावित क्षेत्र र वर्षाको मात्रा पूर्वानुमानभन्दा फरक हुन सक्ने भएकाले सतर्क रहन उनले आग्रह गरेका छन्।
सम्भावित वर्षालाई ध्यानमा राख्दै किसानले धान काट्ने तथा भित्र्याउने काममा मौसमको अवस्था हेरेर निर्णय गर्नुपर्ने देखिएको छ। त्यस्तै, हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटक तथा सर्वसाधारणले पनि मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाउनुपर्नेछ।