नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा झाडापखाला, हैजाको जोखिम

0 Shares

काठमाडौं  २२ भदाै । बाढीबाट प्रभावित नागरिकलाई राखिएका नुवाकोट र रसुवाका केही होल्डिङ सेन्टरमा झाडापखालाका बिरामी भेटिएपछि स्वास्थ्य मन्त्रालयले हैजा फैलिन नदिन पूर्वतयारी थालेको छ।

मन्त्रालयले आइतबार प्रभावित क्षेत्रमा २१ हजार डोज हैजाविरुद्धको खोप र एक हजार प्याकेट जीवनजल पठाएको जनाएको छ। स्थानीय स्वास्थ्य संस्थाहरूमा यसअघि नै करिब पाँच हजार प्याकेट जीवनजल मौज्दात रहेको मन्त्रालयको भनाइ छ।

नुवाकोटको विदुर नगरपालिका–३ स्थित रणभुवनेश्वरी माध्यमिक विद्यालयमा आश्रय लिइरहेका करिब एक सय बाढीपीडितमध्ये तीन जनामा झाडापखाला देखिएको छ। यस्तै, विदुर–७ मा रहेको लाइब्रेरी तथा स्वास्थ्यचौकी भवनमा आश्रय लिएका चार जनामा पनि झाडापखालाको समस्या देखिएको छ। उक्त स्थानमा करिब २५० जना प्रभावित बसिरहेका छन्।

रसुवामा शिवालय आधारभूत विद्यालय र हिमालय क्याम्पसमा राखिएका १८३ जनामध्ये तीन जनामा पनि झाडापखाला देखिएको मन्त्रालयले जनाएको छ।

ठूलो संख्यामा मानिसहरू एउटै स्थानमा बस्दा झाडापखाला देखिन सक्ने भए पनि प्राकृतिक विपत्तिपछि दूषित खानेपानी र कमजोर सरसफाइका कारण हैजा फैलिने जोखिम उच्च हुने स्वास्थ्य अधिकारीहरूको भनाइ छ। त्यसैले होल्डिङ सेन्टरमा रहेका नागरिकलाई सुरक्षित खानेपानी, खाना र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले महामारीको जोखिमलाई ध्यानमा राखेर सुरुमै सावधानी अपनाइएको बताए। उनका अनुसार हैजा फैलिन थालेमा छोटो समयमै अवस्था गम्भीर बन्न सक्ने भएकाले प्रभावित क्षेत्रमा खोप पठाइएको हो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त हैजाविरुद्धको खोप सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा औषधि तथा खोप आपूर्ति, रोग निगरानी, सुरक्षित खानेपानी र सरसफाइ व्यवस्थापन तथा स्वास्थ्यकर्मी परिचालनलाई प्राथमिकता दिइएको छ। बाढीका कारण खानेपानीका मुहान दूषित हुनसक्ने भएकाले क्षतिग्रस्त क्षेत्र आसपासका मुहानको पानी प्रयोग नगर्नसमेत आग्रह गरिएको छ।

प्रभावित क्षेत्रमा नुवाकोट, रसुवा र धादिङका स्थानीय स्वास्थ्य संस्थासहित १४३ जना चिकित्सक परिचालन गरिएको मन्त्रालयले जनाएको छ। उनीहरूलाई मध्यत्रिशूली अस्पताल, रसुवा जिल्ला अस्पताल, धुन्चे स्वास्थ्य शिविरलगायतका स्थानमा खटाइएको छ। होल्डिङ सेन्टरमा रहेका नागरिकको स्वास्थ्य परीक्षणका लागि निजी स्वास्थ्य संस्थाका स्वास्थ्य टोलीसमेत परिचालन गरिएको छ।

सम्बन्धित समाचार

सबै