तराईबाट यसरी ल्याइदै छ काठमाण्डाैमा ग्यास

0 Shares

काठमाडौं भादाै २० गते । कृष्णभीरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंको बजारमा ग्यासको अभाव हुन नदिन तराईका विभिन्न उद्योगबाट सिलिन्डरमा ग्यास भरेर काठमाडौं ल्याउन थालिएको छ।

नेपाल आयल निगमका अनुसार काठमाडौंमा बजारीकरण भइरहेका करिब २६ ब्रान्डका सिलिन्डरमा तराई तथा आसपासका १५ वटा उद्योगले ग्यास भर्ने काम गरिरहेका छन्। उद्योगहरूले काठमाडौं पठाइएका खाली सिलिन्डरमा ग्यास रिफिल गरी ट्रकमार्फत राजधानी पठाइरहेका छन्।

निगमका अनुसार एभरेस्ट र सुगम ब्रान्डका खाली सिलिन्डर हेटौँडास्थित साहारा उद्योगमा रिफिल भइरहेका छन्। तीनवटै उद्योगका सञ्चालक शिवप्रसाद घिमिरे भएकाले आफ्नै उद्योगमा सिलिन्डर रिफिल गरी काठमाडौंका लागि दैनिक ५–६ ट्रक ग्यास पठाउने गरिएको छ।

त्यस्तै, सीताश्री ब्रान्डका सिलिन्डर बारास्थित ग्यास वान उद्योगमा रिफिल भइरहेका छन्। हिमाल ब्रान्डका सिलिन्डर भने वीरगन्जस्थित सुपर ग्यास उद्योगमा भर्ने गरिएको छ। हिमाल ब्रान्ड बिक्री गर्दै आएको काभ्रेको गौरीशंकर ग्यासले वीरगन्जबाट रिफिल गराउँदै आएको निगमले जनाएको छ।

एचपी ब्रान्डका सिलिन्डर चितवन र धनुषास्थित नेपाल ग्यासका उद्योगमा रिफिल भइरहेका छन्। नेपाल ग्यासले आफ्नै दुवै प्लान्टमा सिलिन्डर भर्नुका साथै ठूलो क्षमताका प्लान्ट भएकाले अन्य ब्रान्डका सिलिन्डरमा समेत रिफिलिङ सुविधा दिइरहेको छ।

साल्ट ट्रेडिङको एटिसी ब्रान्डका सिलिन्डर सिमरास्थित अम्बर ग्यास उद्योगमा रिफिल भइरहेका छन्। सगर ब्रान्डका सिलिन्डर नवलपरासीस्थित चण्डेश्वरी ग्यास उद्योगमा भर्ने गरिएको छ। सगर र चण्डेश्वरी दुवै उद्योगका सञ्चालक सावरमल अग्रवाल भएकाले आफ्नै उद्योगमा ग्यास भरेर काठमाडौं पठाउने गरिएको छ।

त्यसैगरी श्रीमाया ब्रान्डका सिलिन्डर पोखरास्थित शक्ति ग्यास र भानु ग्यास उद्योगमा रिफिल भइरहेका छन्। श्रीराम ब्रान्डका सिलिन्डर जनकपुरस्थित जानकी र नोबेल ग्यास उद्योगमा भर्ने गरिएको छ। यी उद्योगका सञ्चालक विजयहरि शर्मा भएकाले ग्यास आयात तथा सिलिन्डर व्यवस्थापनमा सहज भएको निगमले जनाएको छ।

लोकप्रिय ब्रान्डका सिलिन्डर बारास्थित लियो ग्यास र पर्सास्थित मनोज ग्यास उद्योगमा रिफिल भइरहेका छन्। सिद्धार्थ ब्रान्डका सिलिन्डर सिमरास्थित अम्बर ग्यास उद्योगमा भर्ने काम भइरहेको छ।

त्यस्तै, श्रीकृष्ण ब्रान्डका सिलिन्डर चितवनस्थित साइबाबा ग्यास उद्योगमा रिफिल भइरहेका छन्। अम्बर र साइबाबा दुवै उद्योगका सञ्चालक राजेन्द्र डल्लाकोटी हुन्।

सूर्य र नमस्ते ब्रान्डका सिलिन्डर बारास्थित जगदम्बा ग्यास उद्योगमा रिफिल भइरहेका छन्। ओम ब्रान्डका सिलिन्डर जनकपुरस्थित जानकी ग्यास उद्योगमा तथा गीता ब्रान्डका सिलिन्डर चितवन र धनुषास्थित नेपाल ग्यास उद्योगमा रिफिल भइरहेको निगमको तथ्यांकमा उल्लेख छ।

विपद्का बेला निःशुल्क रिफिल

तराईका उद्योगहरूले काठमाडौंका विभिन्न ब्रान्डका खाली सिलिन्डरमा निःशुल्क ग्यास भरेर सहयोग गरिरहेका छन्

ग्यास उद्योगी शिवप्रसाद घिमिरेका अनुसार विपद्को समयमा लागत घटाउन सहयोग पुगोस् भन्ने उद्देश्यले तराईका उद्योगहरूले काठमाडौं पठाइएका खाली सिलिन्डरमा कुनै शुल्क नलिई ग्यास भर्ने गरेका छन्।

‘विपत्का बेला लागत घटाउन मद्दत मिलोस् भनेर तराईका सबै उद्योगले काठमाडौंबाट लगिएका खाली सिलिन्डरमा कुनै पैसा नलिई ग्यास भरिरहेका छन्,’ घिमिरेले भने।

उनका अनुसार ग्यासको माग र आपूर्ति व्यवस्थापन सहज बनाउन उद्योगहरू २४ सै घण्टा सञ्चालनमा छन्। आफ्नै ब्रान्डका सिलिन्डर भर्नुका साथै काठमाडौंका अन्य ब्रान्डका खाली सिलिन्डरमा समेत ग्यास भर्नुपर्ने भएकाले उद्योगहरू निरन्तर सञ्चालन गरिएको उनले बताए।

‘तराईका उद्योगले आफ्नै ब्रान्डका सिलिन्डरमा पनि ग्यास भर्नुपर्‍यो। त्यसपछि काठमाडौंबाट लगिएका अन्य ब्रान्डका खाली सिलिन्डरमा पनि ग्यास भर्नुपर्ने भएकाले २४ सै घण्टा चलाइरहेका छौँ,’ ग्यास उद्योग संघका निवर्तमान अध्यक्षसमेत रहेका घिमिरेले भने।

निगमको प्रत्यक्ष निगरानी

काठमाडौंका लागि ग्यास भर्ने तराईका उद्योगको नियमन तथा अनुगमनका लागि नेपाल आयल निगमले स्थलगत निरीक्षणसमेत गरिरहेको जनाएको छ।

निगमका सहायक प्रबन्धक उपेन्द्र सुवेदीका अनुसार चितवन, बारा, पर्सा, मकवानपुरलगायतका जिल्लामा रहेका ग्यास उद्योगको स्थलगत निरीक्षण गरिएको छ।

‘हामीले स्थलगत रूपमै चितवन, बारा, पर्सा, मकवानपुरलगायतका उद्योगको निरीक्षण गरेका छौँ। यहाँ नियमित रूपमा ग्यास भर्ने र ट्रकमा हालेर काठमाडौं पठाउने काम भइरहेको छ,’ सुवेदीले भने।

कृष्णभीरको पहिरोका कारण काठमाडौं जोड्ने प्रमुख सडकमार्ग प्रभावित भएपछि राजधानीमा ग्यास आपूर्ति सहज राख्न वैकल्पिक रूपमा तराईका उद्योगबाट रिफिलिङ गरी ग्यास ल्याउने व्यवस्था गरिएको हो। यसबाट सडक अवरोधका कारण काठमाडौंमा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित हुन नदिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै