काठमाडौं २२ भदौ । आज देशका अधिकांश भूभागमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुनसक्ने सम्भावना छ।
महाशाखाले कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिमका पहाडी एवं तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुनसक्ने जनाएको छ।
देशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा धेरै स्थानमा तथा बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा समेत मेघगर्जनसहित वर्षा हुनसक्ने जनाइएको छ।
मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी पहाडी क्षेत्रमा अचानक मौसम परिवर्तनसँगै वर्षा र चट्याङको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
रातिको मौसम पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ। साथै कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
मौसम विज्ञानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।