धनगढी, वैशाख १५ गते । कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढ्ने भएको छ। नगरपालिकाले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अस्पताल स्तरोन्नतिको बाटो खुलेको हो।

अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा स्थानीय सरकार र प्रदेश सरकारबीच लामो समयदेखि विवाद रहँदै आएको थियो। नगरपालिकाले चैत २४ गते सर्वोच्च अदालतमा उत्प्रेषण रिट दायर गर्दै प्रदेश सरकारले गठन गरेको अस्पताल व्यवस्थापन समिति र त्यससँग सम्बन्धित निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश माग गरेको थियो।
सोमबार न्यायाधीश सुनिल पोखरेल र नित्यानन्द पाण्डेको इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन नपर्ने आदेश जारी गरेको छ।
नगरपालिकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश सरकार, सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशको सामाजिक विकास मन्त्रालय, मन्त्री र सचिवलाई विपक्षी बनाएको थियो। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल र अधिवक्ता भेषराज पन्तले बहस गरेका थिए भने विपक्षीका तर्फबाट मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पक्ष राख्नुभएको थियो।
सर्वोच्च अदालतको निर्णयसँगै प्रदेश सरकारले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमै उक्त अस्पताल स्तरोन्नतिका लागि करिब साढे चार करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।
अब प्रशासनिक प्रक्रिया र पूर्वाधार विकास तीव्र बनाइने अपेक्षा गरिएको छ।
