मार्च महिना विश्वभर कोलोरेक्टल क्यान्सर सचेतना महिनाका रूपमा मनाइन्छ। यस अवसरमा ठूलो आन्द्रा, मलाशय तथा मलद्वारमा हुने क्यान्सर अर्थात् कोलोरेक्टल क्यान्सरबारे जनचेतना फैलाउनु अत्यन्त आवश्यक छ। कोलोरेक्टल क्यान्सर भन्नाले ठूलो आन्द्रा र मलाशयमा हुने क्यान्सरलाई बुझिन्छ। प्रायः यो क्यान्सर पोलिप भनिने सानो मासु पलाएपछि सुरु हुन्छ। प्रारम्भमा यी पोलिपहरू सामान्य हुन्छन् तर समयसँगै विस्तारै बढ्दै गएर ५ देखि १० वर्षभित्र क्यान्सरको रूप लिन सक्छन्। त्यसैले समयमै पहिचान गरी उपचार गर्न सकेमा यो रोग पूर्ण रूपमा निको पार्न सम्भव हुन्छ।

के–के लक्षण देखिन्छन्?
कोलोरेक्टल क्यान्सरको सुरुको अवस्थामा खासै लक्षण नदेखिन सक्छ। तर रोग बढ्दै जाँदा निम्न लक्षणहरू देखिन सक्छन्—
-दिसामा रगत देखिनु ।
-दिसासँग र्याल जस्तो पदार्थ आउनु।
-कहिले कब्जियत त कहिले पखाला लाग्ने समस्या हुनु।
-दिसा गर्दा अप्ठ्यारो हुनु वा बारम्बार दिसा लागिरहने अनुभव हुनु।
-पेट दुख्ने वा पेट फुल्ने।
-घट्दै जानु
-अत्यधिक थकान वा कमजोरी महसुस हुनु
दिसामा रगत देखिएमा धेरै मानिसहरूले यसलाई पाइल्स मात्र हो भनेर बेवास्ता गर्ने गर्छन्, तर यस्तो लक्षणलाई हल्का रूपमा लिनु खतरनाक हुन सक्छ।

किन हुन्छ कोलोरेक्टल क्यान्सर?
कोलोरेक्टल क्यान्सरको जोखिम उमेरसँगै बढ्दै जाने भए पनि जीवनशैलीसँग सम्बन्धित धेरै कारणहरूले यसको सम्भावना बढाउँछन्। मुख्य जोखिम/ कारकहरू यस प्रकार छन्—
-मोटोपना।
-नियमित व्यायामको कमी ।
-धूमपान र मद्यपान।
-रातो मासु धेरै खाने बानी।
-फलफूल तथा सागसब्जी कम खाने बानी।
केही अवस्थामा भने वंशाणुगत कारण पनि हुन सक्छ।
स्क्रिनिङ किन आवश्यक छ?
कोलोरेक्टल क्यान्सरको सबैभन्दा ठूलो चुनौती भनेको सुरुमा लक्षण नदेखिनु हो। त्यसैले नियमित स्क्रिनिङ अत्यन्त महत्वपूर्ण हुन्छ। सामान्यतया ४५ वर्षपछि नियमित रूपमा कोलोरेक्टल क्यान्सरको जाँच गर्न सिफारिस गरिन्छ। स्क्रिनिङका केही प्रमुख परीक्षणहरू यस प्रकार छन्-
दिसा परीक्षण
-फेल्क्जिबल सिग्मोइडोस्कोपी
-कोलोनोस्कोपी
-सीटी कोलोनोग्राफी
यीमध्ये कोलोनोस्कोपी सबैभन्दा प्रभावकारी परीक्षण मानिन्छ। यस परीक्षणमार्फत ठूलो आन्द्राको सम्पूर्ण भाग जाँच गर्न सकिन्छ र पोलिप भेटिएमा त्यही समयमा हटाउन पनि सकिन्छ।
कसरी रोकथाम गर्ने?
-नियमित व्यायाम गर्ने।
-तौल नियन्त्रणमा राख्ने ।
-फलफूल, सागसब्जी र रेसायुक्त खाना खाने।
-जङ्क फुड कम गर्ने ।
-धूमपान र मद्यपानबाट टाढा रहने ।
-४५ वर्षपछि नियमित स्क्रिनिङ गर्ने ।

नेपालमा जनचेतनाको अभाव
विकसित देशहरूमा नागरिकहरू ५० वर्षपछि नियमित स्क्रिनिङका लागि अस्पताल जाने चलन छ। तर नेपालमा भने प्रायः रोगका लक्षण देखिएपछि मात्र अस्पताल जाने प्रवृत्ति रहेको पाइन्छ। यस कारण धेरै बिरामीहरू ढिलो चरणमा मात्र पहिचान हुने अवस्था देखिन्छ।
समयमै पत्ता लागे निको हुन सक्छ ?
कोलोरेक्टल क्यान्सर सुरुको अवस्थामा पत्ता लागेमा शल्यक्रियामार्फत पूर्ण रूपमा निको पार्न सकिन्छ। यदि रोग अगाडि बढिसकेको अवस्थामा पत्ता लाग्यो भने शल्यक्रिया, किमोथेरापी तथा रेडियोथेरापी जस्ता उपचार विधिहरू प्रयोग गरिन्छ।लक्षणहरूको प्रतीक्षा नगरी समयमै जाँच गराउनु नै सबैभन्दा सुरक्षित उपाय हो।
–(डा साह कन्सल्टेन्ट कोलोरेक्टल सर्जन हुन्।)
