ओलीकाे निरन्तरता र चुनाैती

0 Shares

काठमाडौँ, पुस ६ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित गरेको छ । करिब ७५ प्रतिशत प्रतिनिधिको समर्थनसहित ओली अध्यक्षमा अनुमोदित भएका हुन् ।

महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गर्दै पार्टीभित्र नेतृत्वका लागि चुनावी प्रतिस्पर्धालाई स्वीकार्य प्रक्रिया बनाएको एमालेको दाबी छ । अध्यक्ष ओलीले केन्द्रीय कमिटीको पहिलो बैठकमा पार्टीभित्र अब कुनै गुट नरहेको उल्लेख गर्दै विधान महाधिवेशनबाट पारित नीति र कार्यक्रमअनुसार एकताबद्ध भएर अघि बढ्ने बताएका छन् ।

अधिवक्ता तथा राजनीतिक विश्लेषक प्रदीप सापकोटाका अनुसार महाधिवेशनले एमालेभित्र नेतृत्व स्थिरताको सन्देश दिएको भए पनि पार्टीभित्र देखिएका असन्तुष्ट पङ्क्तिलाई एकताबद्ध गर्नु र आगामी संसदीय निर्वाचनमा जनविश्वास कायम गर्नु ओली नेतृत्वका मुख्य चुनौती रहनेछन् ।

जेनजी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा निर्वाचनको तयारी र सरकारको कदमले एमाले नेतृत्वलाई थप दबाबमा पारेको विश्लेषकहरूको भनाइ छ । समाजशास्त्री विदुर तिमल्सिनाका अनुसार पार्टीबाहिर ओलीप्रति बढ्दो आलोचनाको सामना गर्न आन्तरिक संगठन सुदृढ गर्नु अपरिहार्य भएको छ ।

महाधिवेशनमा अध्यक्ष पदमा पराजित ईश्वर पोखरेल र महासचिवमा पराजित सुरेन्द्र पाण्डेलगायत नेताहरूले नतिजा स्वीकार गर्दै पार्टी अभियानमै रहने प्रतिबद्धता जनाएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचित नेतृत्वलाई बधाई दिँदै प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु जनताको बहुदलीय जनवादलाई जीवन्त बनाउने प्रक्रिया भएको बताएकी छन् ।

महासचिव शङ्कर पोखरेलले ११औँ महाधिवेशनलाई ऐतिहासिक र सफल भएको दाबी गर्दै पारित नीति तथा कार्यक्रमका आधारमा पार्टी अघि बढ्ने बताएका छन् । एमालेले महाधिवेशनपछि एकताबद्ध भएर आगामी निर्वाचनको तयारीमा जुट्ने जनाएको छ ।

सम्बन्धित समाचार

सबै