काठमाडौं असार २३ गते । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले शेरबहादुर देउवा का छोरा जयवीर सिंह देउवा लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा बयानका लागि सात दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।
विभागले जारी गरेको सूचनाअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा केही विषयमा आवश्यक जानकारी लिनुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।
सूचनामा तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया तथा कारबाही अघि बढाइने उल्लेख गरिएको छ।
विभागले अनुसन्धान भइरहेको विषयको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन। अनुसन्धानको गोपनीयता र कानुनी प्रक्रियालाई ध्यानमा राख्दै आवश्यक जानकारीका लागि मात्र हाजिर हुन सूचना जारी गरिएको जनाइएको छ।
जयवीर सिंह देउवा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा हुन्। सार्वजनिक सूचना जारी भएपछि उक्त विषयले राजनीतिक तथा सार्वजनिक वृत्तमा चासो बढाएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा विभागले आवश्यक प्रमाण, कागजात तथा सम्बन्धित व्यक्तिको बयानका आधारमा थप अनुसन्धान प्रक्रिया अघि बढाउने कानुनी व्यवस्था रहेको छ। यस विषयमा सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।