दिल्ली एयरपोर्टमा नेपाली पासपोर्ट बोक्दाको पीडा !

0 Shares

“नेपाली पासपोर्ट कमजोर छ” भनेर मानिसहरूले भन्ने कुरा म वास्तवमै बुझ्दिनथेँ। त्यो कुरा मैले आफैंले अनुभव नगरेसम्म, नदु:खेसम्म, नदेखेसम्म बुझिनँ, बुझ्न चाहिनँ।
केही हप्ताअघि म जर्मनीको बर्लिनमा हुन गइरहेको ‘World Health Summit’ मा सहभागी हुन जानुपर्ने थियो।

म अत्यन्त उत्साहित थिएँ, यो मेरो जीवनको सबैभन्दा गज्जब क्षणहरुमध्ये एक थियो किनकी म मेरो देश र मेरो संस्थाको प्रतिनिधित्व गर्दै युवा प्रतिनिधिकोरूपमा जर्मनी जाँदै थिएँ।
मसँग सबै आवश्यक कागजपत्र थिए :
(निमन्त्रणा र स्पोन्सर लेटर, भिसा, पासपोर्ट, फ्लाइटको जाने र फर्किने टिकट, होटेलको विवरण, सबै ठीक र वास्तविक)

मैले काठमाडौँबाट दिल्लीसम्म Air India लिएको थिएँ, त्यहाँबाट Qatar Airways हुँदै बर्लिन पुग्ने योजना बनाएको थिएँ। यो मेरो लागि सबैभन्दा सस्तो मार्ग थियो, किनभने टिकटको खर्च मैले आफैं व्यहोर्नुपरेको थियो। तर मलाई थाहा थिएन, यो “सस्तो” बाटोले मलाई धेरै ठूलो कुरा गुमाउन बाध्य पार्नेछः (मेरो आत्मसम्मान, मेरो शान्ति, र मेरो सुरक्षाको अनुभूति।)

मलाई दिल्ली बिमानस्थलमा ढ्याक्क रोकियो। एउटा संदिग्ध अपराधीजस्तै र
विमानस्थलमा अधिकारीहरूले मलाई प्रश्नै-प्रश्न सोधे :
“तिमीलाई कसले बोलाएको?”
“किन जाँदैछौ?”
“के तिमी साँच्चिकै विद्यार्थी हौ?”
“तिमीसँग पर्याप्त पैसा छ?”
“त्यहाँ कहाँ बस्छौ?”
“तिमीजस्तो नेपालीले यस्तो सम्मेलनमा किन जानुपर्यो?
“त्यहाँ को-को वक्ता छन् र तिमी कुन-कुन सत्रमा सहभागी हुन्छौ?”

त्यतिबेलासम्म म शान्त रहेँ।
मैले आफूसँग भएका सबै प्रमाण देखाएँ, हरेक प्रश्नको जवाफ दिएँ।

तर मेरा उत्तरले उनीहरू सन्तुष्ट भएनन् !
निरन्तर आधा घण्टाको सोधपुछपछि पनि मलाई जान दिइएन। मलाई फोनबाट अर्को अधिकारीले अपराधीलाई झैँ सोध्दै थियो। न कुनै आदर, न कुनै सम्मान, निरन्तर प्रश्नै-प्रश्न।
अन्त्यमा त्यो अधिकारीले भन्यो, “ तिम्रो यो यात्रा शंकास्पद छ।” त्यसपछि उसले मेरैअगाडि मेरो बोर्डिङ पास च्यातिदियो।
त्यसपछि मलाई ८ घण्टा विमानस्थलभित्रै नजरबन्द गरियोः (पासपोर्ट बिना, झोलाबिना, खाना-पानी र इन्टरनेट बिना।)
मलाई कतै हल्लिन दिइएन। बाथरूम जान, केही खान समेत दिइएन।
मैले अत्यन्त अपमानित महसुस गरेँ। चारैतिर अँध्यारो थियो।
म असहाय भएँ।
एक जना दयालु नेपाली यात्रुको सहायताले म नेपाली दूतावाससँग सम्पर्कमा पुग्न सकेँ, दूतावासले नेपाल एयरलाइन्समार्फत मलाई फर्काउने प्रयास गर्‍यो।
तर Air India ले अन्य एयरलाइन्सबाट समेत फर्कन नदिँदा, मलाई रातभर विमानस्थलमै रोकियो । मानौं मैले ठूलो अपराध गरेको थिएँ।
एक अधिकारीले मतिर नराम्रो नजरले हेर्दै
“तिम्रो प्रोफाइल क्लिन छैन, तिमी युरोपका कुनै देशमा पनि सजिलै पुग्न सक्दैनौ।”

त्यो सुनेर म भित्रभित्रै टुटेँ। डरले भरिएँ।
त्यो रात, म चुपचाप रोएँः डर, आक्रोश र पीडामा।
म त केवल एउटा विद्यार्थी थिएँ, जसलाई सम्मेलनमा बोलाइएको थियो। अन्ततः नेपाल एयरलाइन्सले हस्तक्षेप गर्‍यो र मलाई नेपाल फर्काइयो।

भोलिपल्ट म काठमाडौँस्थित Qatar Airways र जर्मन दूतावास दुवैमा गएँ। उनीहरूले मलाई एकपटक पनि प्रश्न गरेनन्।
सबै कागजात हेरे, मुस्कुराए अनि भनेः

“तपाईँको सबै कुरा ठीक छ, हामीलाई कुनै आपत्ति छैन।” तपाईँप्रति भएको व्यवहारको हामी क्षमायाचना गर्दर्छौँ।”
अन्ततः म Qatar Airways हुँदै दोहा ट्रान्जिट लिएर बर्लिन पुगेँ,जर्मनीमा इमिग्रेशन अफिसरले मुस्कुराउँदै भनेः “Have a nice stay, Miss Adhikari. Good luck with your conference.”

बस, त्यत्तिमात्र।
न कुनै सोधपुछ, न कुनै शंका ।
कति आदर ! कति सम्मान !

त्यही क्षण मैले महसुस गरेँः
यो कहिल्यै पनि मेरो कागजातको कुरा थिएन।
यो मेरो पासपोर्टको कुरा थियो। मेरो राष्ट्रियताको कुरा थियो। किनभने मसँग नेपाली पासपोर्ट थियो, मलाई शंका गरियो।
किनभने म सानो देशको नागरिक थिएँ, मलाई सम्भावित जोखिमको रूपमा हेरियोः
न त युवा प्रतिनिधिको रूपमा,
न त सिक्ने उत्साहीको रूपमा,
न त स्वप्नदर्शीको रूपमा।

अब म फर्किएर सोचिरहेको छुः
के गल्ती मेरो थियो, कि मैले केही दिन मेरो र परिवारको ईच्छाअनुसार युरोप हेर्न/ घुम्न चाहेँ।

के मेरो देशको प्रतिनिधित्व गर्नु अपराध थियो?
नेपाली पासपोर्ट बोक्नु मेरो गल्ती हो?
त्यो अनुभवले मलाई भित्रभित्रै भत्कायो,
तर आँखासमेत खोलिदियो।

जब हामी यात्रा गर्छौं, हामी पासपोर्ट मात्र बोक्ने रहेनछौँ
हामी त हाम्रो देशको छवि, हाम्रा जनताको संघर्ष र संसारले हामीलाई कसरी हेर्छ भन्ने वजन पनि बोकेर हिँडिरहेका हुने रहेछौँ र कहिलेकाहीँ, त्यो वजन असह्यरूपमा भारी लाग्ने रहेछ।

(शम्भवी अधिकारीको तितो अनुभव नेपालीमा ट्रान्सलेट गरी सम्पादन गरिएको)

सम्बन्धित समाचार

सबै