काठमाडौँ, असोज २३ गते । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा यात्रुको चहलपहल बढेको छ।
चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्किने यात्रु अग्रिम टिकट लिन थालेपछि बसपार्कका टिकट काउन्टरमा भीड बढेको हो। विशेषगरी लामो दूरीका सवारीसाधनको टिकट लिन यात्रुहरू बिहानैदेखि काउन्टरमा पुग्न थालेका छन्।
पर्वका बेला यात्रुको चाप बढ्ने र अन्तिम समयमा टिकट पाउन कठिन हुन सक्ने भएकाले सर्वसाधारणले अग्रिम टिकट लिन थालेका हुन्। काठमाडौँबाट पूर्वी तथा पश्चिम नेपालका विभिन्न जिल्लामा जाने यात्रुको चाप बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ।
अग्रिम टिकट बुकिङले यात्रुलाई यात्रा मिति र समय निश्चित गर्न सहयोग पुग्नेछ। तर, चाडपर्वका बेला यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन सञ्चालन, निर्धारित भाडादरको कार्यान्वयन तथा सुरक्षित यात्राको व्यवस्था मिलाउनु चुनौतीपूर्ण हुने गरेको छ।
यात्रुको सहजताका लागि सम्बन्धित निकायले टिकट काउन्टरमा हुने भीड व्यवस्थापन, सवारीसाधनको नियमित सञ्चालन र यात्रु सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।


तस्बिर : दसैँलगायतका चाडपर्व मनाउन घर जान अग्रिम बस टिकट लिन गोङ्गबुस्थित नयाँ बसपार्कमा जम्मा भएका सर्वसाधारण। तस्बिर : सुजन गुरुङ