रचना खड्काको १० बुँदे प्रस्ताव : एमालेमा पुस्तान्तरण र आत्मसमीक्षाको माग

0 Shares

काठमाडौं, असोज ३० गते। नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य रचना खड्काले पार्टीभित्रको संकट, नेतृत्व शैली र सुधारका उपायबारे १० बुँदे महत्वपूर्ण प्रस्ताव प्रस्तुत गरेकी छिन् । उहाँले प्रस्तुत गरेको प्रस्तावमा हालको बैठकलाई “सङ्कटपूर्ण परिस्थितिमा आयोजित विशेष बैठक” भन्दै आत्ममूल्यांकन र निष्ठापूर्ण निर्णयका माध्यमबाट परिस्थिति उल्ट्याउन सकिने विश्वास व्यक्त गरेकी छिन् ।

खड्काले पार्टीभित्र आत्मालोचना र सुधारको आवश्यकता औंल्याउँदै “षड्यन्त्र मात्रै होइन, हाम्रो आफ्नै गल्ती पनि संकटका कारण बनेका छन्” भन्दै जिम्मेवारी स्वीकार गर्न नेताहरूलाई आह्वान गरेकी थिइन् ।

उहाँले प्रस्तुत गरेको प्रस्तावका मुख्य अंश यसप्रकार छन् :

१️ “यो सामान्य बैठक हैन, विशेष बैठक हो”  खड्काले वर्तमान बैठकलाई गम्भीर अवस्थाको समीक्षा गर्ने अवसरको रूपमा लिनुपर्ने बताउँदै अध्यक्षले प्रस्तुत प्रस्तावलाई पूर्णता दिन आवश्यक रहेको उल्लेख गरिन् ।

२️ “संकट बाहिरको मात्र होइन, भित्रको पनि परिणाम हो”  पार्टीमाथि भएको षड्यन्त्र स्वीकार गर्दै पनि त्यसमा आफ्नै कमजोरीको योगदान रहेको आत्मसात गर्नुपर्ने उनको भनाइ थियो ।

३️ “संसद् विघटनको अवस्था फरक छ, कांग्रेससँग सहकार्य जरुरी” २०७७ सालको विघटन र हालको अवस्था फरक रहेको बताउँदै एमाले चुनावको पक्षमा छैन भन्ने सन्देश नजानुपर्नेमा उनले जोड दिइन् ।

४️ “प्रधानशत्रु पार्टीभित्र खोज्ने प्रवृत्ति रोक्नुपर्छ”  नेतृत्व तहकै व्यवहारले बाह्य खतरा नदेखिएको र पार्टी पङ्क्तिलाई सहि दिशामा परिचालन गर्न असफल भएको उनको टिप्पणी थियो ।

५️ “सोभियत संघ ढल्यो, शासन र आचरणका कारणले”  सोभियत सत्ता सुशासन र जनसंग सम्बन्ध नबनाउँदा ढल्यो भन्ने उदाहरण दिँदै उनले पार्टी–जनता सम्बन्ध बलियो बनाउन आग्रह गरिन् ।

६️ “पाँच पुस्ताको नेतृत्व एउटै पुस्ताले सम्भव छैन”  हरेक पुस्तालाई देश र पार्टीको नेतृत्व गर्ने अवसर दिनुपर्ने बताउँदै चिनियाँ कम्युनिस्ट पार्टीको अभ्यास अध्ययन गर्न सुझाव दिइन् ।

७️ “दुई कार्यकाल र उमेर सीमा पुनर्ब्यवस्था गरिनुपर्छ”  नेतृत्वमा पुगेपछि स्थायी हुने प्रवृत्तिलाई रोक्न पार्टी विधानमा कार्यकाल र उमेर सिमा पुनर्संरचना गर्नुपर्ने उनको प्रस्ताव थियो ।

८️ “अध्यक्ष अब अभिभावक बनेर बस्नुपर्छ”  एमाले नै देशको विकल्प भएको उल्लेख गर्दै खड्काले अध्यक्षलाई अब पार्टीको अभिभावकको भूमिकामा रहन आग्रह गरिन्, जसले उहाँको योगदानलाई जीवित राख्ने बताइन् ।

९️ “विद्या भण्डारीको सदस्यता नवीकरण खुला गर्नुपर्छ”  जनतामा पार्टीको लोकतान्त्रिक छवि कमजोर भएको उल्लेख गर्दै उनले फौजदारी अभियोगबाहेक अन्य कारणले सदस्यता समाप्त गर्नु राम्रो नजीर नहुने बताइन् र पूर्व उपाध्यक्ष विद्या भण्डारीको सदस्यता नवीकरण गर्न माग गरिन् ।

१० “साँचो समस्या ऐनामा हेरेर देखिन्छ”  अन्त्यमा उनले पार्टीभित्र आफ्ना आलोचना मन नपर्नेहरूलाई उद्देश गर्दै भनिन्, “जो जोलाई यस्तो कुरा सुन्दा असहज लाग्छ, उनीहरूले आफ्नो घरको ठुलो ऐनामा गएर हेर्नुस् — त्यही देख्नुहुन्छ, पार्टीको सबैभन्दा ठूलो समस्या।”

रचना खड्काको यो प्रस्तावले एमालेभित्रको नेतृत्व संरचना, पुस्तान्तरण, आत्मसमीक्षा र संगठन पुनर्जागरणबारे गम्भीर बहस सुरु गरेको छ । बैठकमा उनका विचारले नेताहरूबीच चासो र तरंग पैदा गरेको बताइएको छ ।

सम्बन्धित समाचार

सबै