भारत र पाकिस्तान दुई देश युद्धमा होमिएपछि विश्व नै त्राहिमाम भयो । हुनु स्वाभाविक पनि हो । किनभने भारत र पाकिस्तान दुवै आणविक हतियारसम्पन्न देश हुन् । कसैले एउटा आणविक हतियार मात्रै प्रहार गरे पनि विश्व ध्वस्त हुन सक्छ । त्यसैले सबै थर्कमान हुने नै भए । युक्त युद्ध रोक्न सक्ने हिम्मत कोहीसँग थिएन । अब के गर्ने होला भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाईसमेत रातमा निद्रा लाग्न छोडिसकेको थियो ।
यस्तो बेला अचानक केपी शर्मा ओली देखा पर्नुभयो । केपी ओली अर्थात नेपालको प्रधानमन्त्री । सबैलाई थाहा भएकै कुरा हो, प्रधानमन्त्री केपी शर्मा ओली अत्यन्तै कडा हुनुहुन्छ । दुई देशले फाइटर प्लेन र मिसाइल हानेर साइँसुइँ गरिरहेको देख्दा झ्वाँक चलेछ । उहाँले फ्याट्टै एउटा वक्तव्य निकाल्नुभयो – ओइ, भारत एण्ड पाकिस्तान ! के ताल हो यो ? संयमित हुनुपर्दैन ? मलाई त असंयमी मान्छेहरू मन पर्दैन है । ल तुरुन्तै ठण्डा हुनुस् !
