असोज ८–१२ मा अत्यधिक वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

0 Shares

काठमाडौं, असोज ४ गते । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने अनुमान गरिएको छ। केही मौसमविद्ले उक्त अवधिमा केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना औँल्याउँदै पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन्।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडेलको अध्ययनका आधारमा असोज ८–१२ गतेसम्म देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको बताएका छन्। उनका अनुसार केही मोडेलले निश्चित स्थानमा ४०० मिलिमिटरभन्दा बढी तथा कतिपय अवस्थामा ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने संकेत गरेका छन्। यद्यपि यस्तो वर्षा देशभर समान रूपमा नभई सीमित क्षेत्रमा केन्द्रित हुन सक्ने उनले उल्लेख गरेका छन्।

पोखरेलका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने क्रममा आउने सुक्खा हावा र बंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणालीको अन्तरक्रियाले नेपालमा वर्षाको मात्रा प्रभावित हुन सक्छ। उनले सार्वजनिक गरेको पूर्वानुमान तयारीका लागि भएको भन्दै यसलाई त्रास फैलाउने उद्देश्यका रूपमा नलिन आग्रह गरेका छन्।

मौसम तथा वातावरणविद् उज्ज्वल उपाध्यायले पनि बंगालको खाडीमा विकसित प्रणालीलाई नजिकबाट निगरानी गर्नुपर्ने बताएका छन्। उनका अनुसार हाल उपलब्ध अधिकांश पूर्वानुमान मोडेलले असोज ८ देखि ११ गतेसम्म वर्षाको सम्भावना देखाएका छन् भने असोज १० गते जोखिम तुलनात्मक रूपमा बढी हुन सक्ने संकेत गरेका छन्।

यद्यपि उपाध्यायले हालको पूर्वानुमान अन्तिम निष्कर्ष नभएको उल्लेख गर्दै प्रणालीको दिशा, शक्ति र विकासक्रममा परिवर्तन आउन सक्ने बताएका छन्। उनले सर्वसाधारणलाई नआत्तिन तर आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन्।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित प्रणालीलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस्ता प्रणाली कहिलेकाहीँ कमजोर हुने वा दिशा परिवर्तन गर्ने भएकाले अहिले नै यसको प्रभावबारे अन्तिम निष्कर्षमा पुग्न सकिने अवस्था छैन।

उनले प्रणालीको विकासक्रम स्पष्ट भएपछि विभागले आधिकारिक मौसम बुलेटिनमार्फत आवश्यक जानकारी सार्वजनिक गर्ने बताए। विभागका अनुसार वर्षाको मात्रा, प्रभावित क्षेत्र र जोखिमको स्तरबारे थप स्पष्ट हुन अझै केही दिन लाग्नेछ।

मौसमविद्हरूका अनुसार पूर्वानुमानअनुसार भारी वर्षा भएमा नदी तथा खोला आसपासका क्षेत्र, पहाडी भूभाग र कृषि क्षेत्रमा असर पर्न सक्ने सम्भावना छ। विशेषगरी पाक्न लागेको धानबालीमा क्षति पुग्न सक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

उता, भारतीय मौसम विभाग (आईएमडी) का अनुसार उत्तर थाइल्यान्ड र म्यानमार आसपासको मौसमी प्रणालीको प्रभावले आगामी ४८ घण्टाभित्र उत्तर अण्डमान सागरमा न्यूनचापीय क्षेत्र बन्ने सम्भावना छ। त्यसपछि उक्त प्रणाली बंगालको खाडीको मध्य भागतर्फ सर्ने र सेप्टेम्बर २२ सम्म डिप्रेसन वा डिप–डिप्रेसनमा विकसित हुन सक्ने अनुमान गरिएको छ।

उक्त प्रणाली चक्रवातमा परिणत भएमा उत्तर हिन्द महासागर क्षेत्रको सन् २०२६ को पहिलो उष्णकटिबन्धीय चक्रवात हुनेछ। विश्व मौसम संगठनको नामावलीअनुसार त्यसको नाम ‘अर्नब’ रहनेछ, जुन नाम बंगलादेशले प्रस्ताव गरेको हो।

सम्बन्धित समाचार

सबै