काठमाडौं असाेज १७ गते । टाउकोमा खैरो (ब्लोन्ड) रौँ भएका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट ‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको बंगलादेशको एउटा राँगो बकरइदमा बलि हुनबाट जोगिएको छ।
करिब ७०० किलोग्राम तौलको उक्त दुर्लभ राँगो बकरइदको धार्मिक अनुष्ठानका लागि एक ग्राहकलाई बिक्री भइसकेको थियो। तर अन्तिम समयमा बंगलादेश सरकारले हस्तक्षेप गर्दै राँगोलाई बलि नदिन निर्देशन दिएपछि यसलाई ढाकास्थित राष्ट्रिय चिडियाखानामा पठाइएको हो।
बिहीबार मनाइने बकरइदको पूर्वसन्ध्यामा उक्त राँगोलाई हेर्न सर्वसाधारणको ठूलो भीड फार्ममा जम्मा हुन थालेपछि बंगलादेशको गृह मन्त्रालयले बुधबार हस्तक्षेप गरेको थियो। अधिकारीहरूका अनुसार राँगोप्रति बढेको अस्वाभाविक जनचासो र भीडका कारण सुरक्षा संवेदनशीलता बढेपछि यसलाई बलि नदिने निर्णय गरिएको हो।
गृहमन्त्री सलाहुद्दिन अहमदको निर्देशनपछि राँगो खरिद गर्ने ग्राहकलाई रकम फिर्ता गरिएको छ। त्यसपछि राँगोलाई ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गरिएको बताइएको छ।
उक्त राँगोको खैरो कपाल र शान्त स्वभावका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि यसको चर्चा चुलिएको थियो। राँगोलाई हेर्न टाढाटाढाबाट समेत मानिसहरू फार्ममा पुग्ने गरेका थिए।
फार्मका सञ्चालक जियाउद्दिन मृधाका अनुसार उनका भाइले राँगोको स्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखेपछि यसको नाम ‘डोनाल्ड ट्रम्प’ राखेका थिए।
सामाजिक सञ्जालमा भाइरल बनेको यही परिचयका कारण राँगोप्रति सर्वसाधारणको चासो बढेको र अन्ततः सरकारी हस्तक्षेपपछि यो बलि हुनबाट जोगिएको हो।
राँगोको भविष्यबारे भने बंगलादेश सरकारले थप जानकारी सार्वजनिक गरेको छैन।