काठमाडौं, असोज २५ गते। गोरखाको बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले पुल, बजार तथा नदी आसपासका संरचनामा ठूलो क्षति पुर्याएको छ। कालो लेदोसहित आएको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाट पुलको एक भागसमेत बगाएको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ भने चार जना सम्पर्कविहीन भएको खबर प्राप्त भएको छ।
रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीको डेढ महिनापछि गोरखामा अर्को ठूलो बाढी आएपछि नदी तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन्। उत्तरी गोरखाका स्थानीयले आफूहरूले यसअघि यस्तो भयावह बाढी नदेखेको बताएका छन्।
बाढीले गोरखाको आरुघाट पुलका साथै विभिन्न स्थानका झोलुङ्गे तथा पक्की पुलमा क्षति पुर्याएको छ। चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको विवरण प्राप्त भएको छ।
बाढी आउनुको वास्तविक कारण भने अझै पुष्टि हुन सकेको छैन। प्रारम्भिक अनुमानअनुसार उत्तरी क्षेत्रमा हिमपहिरो गएको र त्यसबाट आएको हिउँ, लेदो तथा अन्य पदार्थ नदीमा मिसिँदा बाढी आएको हुन सक्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले स्थानीयसँगको टेलिफोन सम्पर्कबाट हिमपहिरो गएको हुन सक्ने जानकारी प्राप्त भएको बताए। यद्यपि घटनाको वास्तविक कारणबारे अनुसन्धान तथा थप विवरण आवश्यक रहेको उनको भनाइ छ।
मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार बूढीगण्डकीको माथिल्लो क्षेत्रमा उल्लेख्य वर्षा भएको अभिलेख छैन। त्यसैले वर्षाकै कारण बाढी आएको निष्कर्षमा पुग्न नसकिने उनले बताएका छन्।
विपद् प्राधिकरणका अनुसार बाढीबाट मानवीय क्षति भएको पुष्टि भइसकेको छैन। तर गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोला किनार क्षेत्रबाट चार जना सम्पर्कविहीन भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ। काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरसमेत घटनास्थलतर्फ पठाइएको छ। तर प्रतिकूल अवस्थाका कारण हेलिकप्टर अवतरण गर्न कठिनाइ हुँदा तत्काल उद्धार कार्य प्रभावित भएको प्राधिकरणले जनाएको छ।
प्रहरीले जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा सम्भावित जोखिमबारे सचेत गराउने काम गरिरहेको छ।
बाढीको प्रभाव गोरखा र धादिङसँगै तनहुँ, मुग्लिन तथा चितवनसम्म पर्न सक्ने आशंका गरिएको छ। त्यसैले बूढीगण्डकी र यससँग जोडिएका नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव हेर्न नजाने र जोखिम देखिए सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
बाढीको स्रोत, क्षतिको वास्तविक अवस्था तथा सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।