जलेश्वरमा संघीय गणतान्त्रिक गठबन्धनको भव्य रैली तथा अन्तरक्रिया सम्पन्न

0 Shares

भदौ ८ – मधेशी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न जलेश्वरमा संघीय गणतान्त्रिक गठबन्धनले भव्य जनजागरण रैली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार बिहान जिल्लाको समन्वय समितिको हलबाट सुरु भएको रैली नगर परिक्रमा गर्दै जिल्ला विकास समिति हलमा पुगेर अन्तरक्रिया सभामा परिणत भएको थियो। कार्यक्रममा गठबन्धनका शीर्ष नेता, केन्द्रीय पदाधिकारी, विभिन्न पार्टीका अध्यक्ष, जनप्रतिनिधि तथा हजारौं कार्यकर्ताको उपस्थितिले वातावरण उत्साहपूर्ण बनेको थियो। सहभागीहरूले “एक मधेश, एक प्रदेश,” “मधेसी तथा उत्पीडित जनताको अधिकार सुनिश्चित गर,” “पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर,” जस्ता नारा लगाएर मागहरू प्रस्तुत गरेका थिए।

अन्तरक्रिया सभामा प्रमुख अतिथिका रूपमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारी सहभागी भएका थिए। कार्यक्रममा बहुजन एकता पार्टीका कार्यवाहक अध्यक्ष राजाराम पासवान, नेपाल सद्भावना पार्टीका रामकुमार महतो, नेपाल जनजागृति पार्टीका अध्यक्ष ध्रुवलाल निषाद र मधेश प्रदेशकी पूर्वमन्त्री बिमला अन्सारीलगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो।

सभामा सम्बोधन गर्दै अन्सारीले उत्पीडित जनताको मुक्ति, समानता र सामाजिक न्यायको लागि आन्दोलन अझ सशक्त बनाउनुपर्नेमा जोड दिए। उनले भने, “राज्यको एकल जातीय चिन्तन र निरंकुश शैली, साथै वर्तमान नेतृत्वको अकर्मताले मधेशी र उत्पीडित जनताको मुक्ति आन्दोलनलाई कमजोर बनाएको छ। अब इमान्दार राजनीतिक शक्तिहरूले तेस्रो जनआन्दोलन अघि बढाउन अपरिहार्य छ।”

अन्सारीले लिपुलेक–कालापानी मुद्दामा प्रधानमन्त्रीले कडाइका साथ राष्ट्रिय पक्ष प्रस्तुत गर्नुपर्ने बताउँदै गौर घटना (२०७३ चैत ७) को छानबिनमा सर्वोच्चको प्रमादेशलाई निष्पक्ष र पारदर्शी रूपमा कार्यान्वयन गर्न आग्रह गरे।

कार्यक्रमका अन्य वक्ताहरूले पनि मधेशी र उत्पीडित समुदायको अधिकारको प्रश्नमा एकताबद्ध संघर्ष आवश्यक रहेको धारणा राखे। बहुजन एकता पार्टीका कार्यवाहक अध्यक्ष पासवानले दलित, मुस्लिम, निषाद, पिछडा वर्ग र महिलाले संयुक्त संघर्ष गर्नुपर्ने बताए। नेपाल सद्भावना पार्टीका रामकुमार महतोले भने, “कथित मधेशी नेताहरूले जनताको भरोसा तोडेका छन्, अब इमान्दार र समर्पित नेतृत्व रोज्नुपर्छ।”

नेपाल जनजागृति पार्टीका अध्यक्ष ध्रुवलाल निषादले निषाद समुदायको समानुपातिक प्रतिनिधित्व र सामूहिक संघर्षमा जोड दिए। त्यस्तै, पूर्वमन्त्री बिमला अन्सारीले मुस्लिम, दलित, निषाद र पिछडा वर्गलाई सदैव पछाडि पारिएको भन्दै अब आफ्नै नेतृत्व रोज्नु अपरिहार्य भएको बताइन्।

यसरी सम्पन्न रैली र अन्तरक्रिया सभाले मधेशी तथा उत्पीडित जनताको अधिकार र समानताको आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने सन्देश दिएको नेताहरूले बताएका छन्।

सम्बन्धित समाचार

सबै