काठमाडौं, २७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
एक महिलालाई धम्की दिएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले सुनारमाथि आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको हो।
रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी दिएका छन्।
छानबिनका क्रममा अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न सुनारलाई छानबिनको निष्कर्ष नआएसम्म सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले घटनाको सत्यतथ्य पत्ता लगाउन आन्तरिक अनुसन्धान अघि बढाएको जनाएको छ। छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप निर्णय हुने अपेक्षा गरिएको छ।