नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, फाइबर जडानमा ५०० रुपैयाँ छुट

0 Shares

काठमाडौं, असोज २४ गते । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत नयाँ फाइबर इन्टरनेट जडान गर्ने ग्राहकले ५०० रुपैयाँ छुट पाउने भएका छन् भने वार्षिक प्याकेज खरिदमा एक महिना थप इन्टरनेट सेवा उपलब्ध हुनेछ।

कम्पनीका अनुसार असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच इन्टरनेट जडान गर्ने ग्राहकले जडान शुल्कमा ५०० रुपैयाँ छुट पाउनेछन्। त्यस्तै, १००, १५० र २०० एमबीपीएसका वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले १२ महिनाको शुल्कमा १३ महिना इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन्।

मोबाइल सेवातर्फ पनि टेलिकमले विभिन्न डेटा तथा भ्वाइस प्याकेज सार्वजनिक गरेको छ। जसअनुसार ४९९ रुपैयाँमा दैनिक ५ जीबी र ६९९ रुपैयाँमा दैनिक १० जीबी उच्चगतिको डेटा उपलब्ध हुने अनलिमिटेड प्याकेज ल्याइएको छ।

त्यस्तै, २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेट कल सुविधा र ९९ रुपैयाँमा नेपाल टेलिकमको नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने प्याकेज पनि उपलब्ध गराइएको छ।

चाडपर्वका बेला ग्राहकलाई सुलभ दरमा इन्टरनेट, डेटा, कल तथा एसएमएस सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले उक्त अफर ल्याएको हो।

सम्बन्धित समाचार

सबै