दसैँमा सहरलाई स्वाद, व्यापारीलाई घरको सम्झना: साइपालका भेडाच्याङ्ग्रा व्यवसायीको कथा

0 Shares

बझाङ, २६ असोज । दसैँमा परिवारसँग बसेर टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर सबैलाई हुन्छ । तर बझाङको साइपाल गाउँपालिकाका भेडाच्याङ्ग्रा व्यापारीका लागि चाडपर्व परिवारसँग रमाउने समयभन्दा पनि व्यापारमा व्यस्त हुने समय बनेको छ । सहरका भान्सामा हिमाली भेडाच्याङ्ग्राको मासु पाकिरहँदा त्यसलाई बजारसम्म पुर्‍याउने व्यापारी भने आफ्नै घरमा दसैँ मनाउनबाट वञ्चित छन् ।

साइपाल गाउँपालिका–१ धलौनका घुरनबहादुर बोहराले आमाको हातबाट दसैँको टीका नलगाएको १५ वर्षभन्दा बढी भइसकेको छ । घरमा आमा, परिवार र आफन्त भए पनि व्यापारको जिम्मेवारीले उनलाई चाडपर्वमा पनि पोखरा र काठमाडौँका बजारतर्फ डोर्‍याउँछ । आमाको आशीर्वाद फोनबाटै लिनुपर्ने र परिवारलाई शुभकामना पनि फोनबाटै दिनुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

‘घरको एक्लो छोरो, त्यो पनि घर नहुँदा आमालाई दसैँ आएजस्तो नै लाग्दैन । परिवारको मुख्य व्यक्ति नहुँदा चाडपर्व टाढिएकै जाती भन्छन्,’ घुरनले सुनाए ।

साइपालकै उज्ज्वल बोहराको अनुभव पनि उस्तै छ । उनले पनि डेढ दशकदेखि दसैँ–तिहार परिवारसँग बसेर मनाउन पाएका छैनन् । वर्षभरिको आम्दानी हुने मुख्य समय भएकाले चाडपर्वमा घर फर्किनुभन्दा व्यापारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

‘वर्षभरिको आम्दानी हुने चाडबाडको बेला दसैँ सम्झेर घरमै बस्न सकिँदैन । परिवारलाई सम्झनुपर्छ र बाटो लाग्नुपर्छ,’ उज्ज्वलले भने ।

घुरन, उज्ज्वल, राजेन्द्र र सुरेन्द्रजस्ता व्यापारी तथा सहयोगी साइपालमा सय जनाभन्दा बढी छन् । साइपालबाट भेडाच्याङ्ग्रा लिएर पोखरा र काठमाडौँ पुग्नेको सङ्ख्या डेढ सयभन्दा बढी हुने गरेको व्यवसायी बताउँछन् । ट्रक चालक बजार पुगेपछि छिट्टै फर्किए पनि पशु बिक्री गर्ने व्यापारी र सहयोगीलाई भने बजारमा लामो समय बिताउनुपर्छ । त्यसैले उनीहरूको दसैँ–तिहार बाटो र बजारमै बित्ने गरेको छ ।

साइपाल–१ का रमेश धामीका अनुसार बीच बाटोमा कसैले टीका लगाइदिए र कानमा जमरा सिउरिदिए मात्रै पर्व मनाएको अनुभूति हुन्छ । नत्र परिवारसँगको भेटघाट र सामूहिक खुसी व्यापारको व्यस्ततामै हराउँछ ।

सहयोगीबाट व्यापारी बने घुरन

साइपालबाट व्यावसायिक रूपमा भेडाच्याङ्ग्रा पोखरा पठाउने क्रम २०६८ सालदेखि सुरु भएको हो । त्यसअघि साइपालका युवा मुगु, हुम्ला र जुम्लाका व्यापारीसँग सहयोगीका रूपमा पोखरा जाने गर्थे । व्यापारीले स्थानीय भेडाच्याङ्ग्रा खरिद गर्दा पशुको हेरचाह र ढुवानीमा सघाउने जनशक्ति पनि लैजाने गरेका थिए ।

घुरनबहादुर पनि २०६४ सालमा सहयोगीका रूपमा पोखरा पुगेका थिए । चार वर्षसम्म पशु ढुवानी र बिक्रीमा सहयोग गरेपछि उनले व्यापारको अनुभव हासिल गरे । त्यसपछि आफ्नै समूह बनाएर भेडाच्याङ्ग्रा व्यवसायमा लागे ।

सुरुका वर्षमा भेडाच्याङ्ग्रा हिँडाएरै पोखरा पुर्‍याउनुपर्ने अवस्था थियो । कर्णालीका विभिन्न जिल्ला हुँदै पशु गन्तव्यमा पुर्‍याउन करिब एक महिना लाग्ने गरेको घुरन सम्झन्छन् । अहिले भने ट्रकमा ढुवानी गरिन्छ ।

उच्च हिमाली क्षेत्रमा प्राकृतिक घाँस खाएर हुर्किएका भेडाच्याङ्ग्राको मासु पोखरामा लोकप्रिय हुँदै गएपछि बजार काठमाडौँसम्म विस्तार भएको व्यवसायीको अनुभव छ । स्थानीय पशुपालकले पालेका भेडाच्याङ्ग्रा टाढाका उपभोक्तासम्म पुग्न थालेपछि हिमाली क्षेत्रका लागि व्यापारको नयाँ सम्भावना खुलेको छ ।

यस वर्ष ३८ ट्रक भेडाच्याङ्ग्रा निर्यात

बझाङबाट पोखरा भेडाच्याङ्ग्रा पुर्‍याउन सामान्य अवस्थामा पाँच दिन लाग्छ । मौसम, बाटो र अन्य परिस्थितिका कारण कतिपय अवस्थामा एक सातासम्म यात्रा गर्नुपर्ने हुन्छ । पशुलाई लगातार गाडीमा राखेर लैजान नसकिने भएकाले दिनभर नजिकका वन तथा चरन क्षेत्रमा चराइन्छ र साँझपछि मात्रै यात्रा अघि बढाइन्छ ।

व्यवसायीका अनुसार यस वर्ष साइपाल गाउँपालिकाबाट पोखरा र काठमाडौँका लागि ३८ ट्रक भेडाच्याङ्ग्रा पठाइएको छ । गत वर्ष यस्तो सङ्ख्या २८ ट्रक थियो । जिल्लाभरबाट भने करिब ६० ट्रक भेडाच्याङ्ग्रा निर्यात हुने गरेको छ ।

एउटा ट्रकमा औसत ६५ वटा भेडाच्याङ्ग्रा अटाउने व्यवसायीको भनाइ छ । यस आधारमा यस वर्ष साइपालबाट पठाइएका ३८ ट्रकमा करिब दुई हजार ४७० वटा भेडाच्याङ्ग्रा ढुवानी भएको अनुमान गर्न सकिन्छ ।

साइपाल गाउँपालिकाले निर्यात हुने प्रत्येक भेडाच्याङ्ग्राबापत १०० रुपैयाँका दरले राजस्व सङ्कलन गर्दै आएको छ । गाउँपालिकाका नायब प्राविधिक सहायक सुमन सिंहका अनुसार कार्यपालिकाको निर्णयअनुसार यस्तो राजस्व उठाउने गरिएको हो । बझाङका सुर्मा, छविसपाथिभेरा, बुङ्गल नगरपालिका, मस्टा र तलकोटलगायत स्थानीय तहले पनि भेडाच्याङ्ग्रा निर्यातमा राजस्व सङ्कलन गर्ने गरेका छन् ।

एउटा भेडाच्याङ्ग्रामा पाँच हजारसम्म अतिरिक्त खर्च

भेडाच्याङ्ग्रा व्यवसायमा आम्दानीको सम्भावना भए पनि लगानी र जोखिम उत्तिकै ठूलो छ । साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीका अनुसार गाउँमा एउटा भेडाच्याङ्ग्रा खरिद गर्न २५ हजारदेखि ३० हजार रुपैयाँसम्म खर्च हुन्छ । त्यसपछि ढुवानी, चरिचरन, खाना, जनशक्ति र बाटोका अन्य खर्च थपिँदा प्रतिपशु पाँच हजार रुपैयाँसम्म अतिरिक्त लागत लाग्न सक्छ ।

बजारमा अपेक्षित मूल्य नपाउँदा व्यापारीले घाटा व्यहोर्नुपर्ने अवस्था पनि आउने गरेको छ । धेरै सङ्ख्यामा पशु खरिद गर्दा ठूलो रकम लगानी गर्नुपर्ने भए पनि बिक्री मूल्य सुनिश्चित नहुने भएकाले व्यवसाय जोखिमपूर्ण बनेको धामी बताउँछन् ।

अघिल्लो वर्ष बझाङबाट लगिएका च्याङ्ग्रा वास्तविक नभएको भन्ने हल्ला फैलिएपछि बजार प्रभावित भएको र व्यापारीले निकै कम मूल्यमा बेच्नुपरेको उनको भनाइ छ । यस्ता अफवाहले बजार र व्यवसायीको लगानी दुवैमा असर पार्ने गरेको छ ।

व्यापारका क्रममा चरिचरनको समस्या पनि उत्तिकै छ । लामो यात्रामा पशुलाई बाटोमा चराउन स्थानीयसँग अनुमति लिनुपर्ने र कतिपय ठाउँमा चरन प्रयोग गरेबापत रकम तिर्नुपर्ने हुन्छ । चराउन नपाए पशु बिरामी पर्ने वा मर्ने जोखिम हुन्छ । व्यवसायीका अनुसार कतिपय स्थानमा चरिचरनका क्रममा अपमानजनक व्यवहारसमेत सहनुपर्छ ।

ढुवानीका क्रममा कागजातसम्बन्धी झन्झटले पनि समस्या थप्ने गरेको घुरन बताउँछन् । जिल्लाबाट आवश्यक कागजात तयार गरेर हिँडे पनि बाटोमा विभिन्न बहानामा रोकावट हुने गरेको उनको गुनासो छ ।

स्वास्थ्य परीक्षणपछि मात्रै ढुवानी

ठूलो सङ्ख्यामा भेडाच्याङ्ग्रा लामो दूरीसम्म लैजाँदा पशुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यात्राका क्रममा रोग वा सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले स्वास्थ्य परीक्षणपछि मात्रै निर्यात गर्ने गरिएको छ ।

पशु चिकित्सक डा. रवि थारूका अनुसार भेडाच्याङ्ग्रा पठाउनुअघि परीक्षण, आवश्यक प्राथमिक उपचारका औषधि र सम्बन्धित कागजातको व्यवस्था गरिन्छ ।

‘यति ठूलो मात्रामा पठाउँदा बिनापरीक्षण पठाएमा कुनै सङ्क्रमण वा रोग फैलन सक्छ,’ थारूले भने ।

स्वास्थ्य परीक्षणले सम्भावित रोगको जोखिम घटाउनुका साथै उपभोक्तासम्म स्वस्थ पशु पुर्‍याउन सहयोग गर्ने उनको भनाइ छ ।

व्यापारले जोडेको बजार, टाढिएको परिवार

साइपालका भेडाच्याङ्ग्रा व्यवसायीले हिमाली क्षेत्रका पशुलाई पोखरा र काठमाडौँका उपभोक्तासम्म पुर्‍याएर स्थानीय अर्थतन्त्रमा योगदान गरिरहेका छन् । गाउँका पशुपालकले बजार पाएका छन् भने स्थानीय तहले राजस्वसमेत सङ्कलन गरिरहेको छ ।

तर यो व्यापारको अर्को पाटो पनि छ आमाको हातबाट टीका लगाउने, परिवारसँग बसेर दसैँ मनाउने र आफन्तसँग खुसी साट्ने अवसरबाट वञ्चित हुनुपर्ने बाध्यता । सहरमा चाडपर्वको रौनक बढाउन खटिएका उनीहरूका लागि आफ्नै घरको दसैँ भने वर्षौंदेखि फोनको शुभकामना र सम्झनामै सीमित छ ।

सम्बन्धित समाचार

सबै