वर्षाले रोक्यो नेपालको सेमिफाइनल यात्रा, श्रीलंका वरीयताका आधारमा अन्तिम चारमा

0 Shares

काठमाडौं, असोज १३ गते। जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल लगातारको वर्षाका कारण रद्द भएको छ।

बिहान पौने ६ बजेदेखि सुरु हुने तालिका रहेको खेल वर्षाका कारण सञ्चालन हुन नसकेपछि रद्द गरिएको हो। खेल रद्द भएसँगै उच्च वरीयतामा रहेको श्रीलंका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपालको यात्रा क्वाटरफाइनलमै टुंगिएको छ।

नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपछि नेपाल समूह विजेताका रूपमा क्वाटरफाइनल पुगेको थियो। तर वर्षाकै कारण नकआउट चरणको खेल हुन नसक्दा नेपालले सेमिफाइनल पुग्ने अवसर गुमाएको हो।

योसँगै नेपाल लगातार चौथोपटक एसियन गेम्सको पुरुष क्रिकेटमा क्वाटरफाइनलबाटै बाहिरिएको छ। यसअघि सन् २०१०, २०१४ र २०२२ संस्करणमा पनि नेपाल अन्तिम आठमै रोकिएको थियो।

यसअघि भएका क्वाटरफाइनल खेलहरूमा पनि वर्षाले प्रभाव पारेको थियो। हङकङ–पाकिस्तान तथा भारत–अफगानिस्तानबीचका खेल रद्द भएपछि क्रमशः पाकिस्तान र भारत वरीयताका आधारमा सेमिफाइनलमा पुगेका थिए।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज बिहान पौने ११ बजे मलेसिया र बंगलादेशबीच प्रतिस्पर्धा हुने तालिका छ। मौसम प्रतिकूल रहेकाले उक्त खेल पनि वर्षाका कारण प्रभावित हुन सक्ने सम्भावना रहेको छ।

सम्बन्धित समाचार

सबै