भोटेकोशी बाढीको एक महिना: विद्यालयविहीन सयौं विद्यार्थी, वैकल्पिक पढाइको खोजी

0 Shares

रसुवा/नुवाकोट, असोज ११ । एक महिनाअघि आएको भोटेकोशी बाढीले रसुवा र नुवाकोटका दर्जनौं विद्यालयमा ठूलो क्षति पुर्‍याएपछि सयौं विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। केही विद्यालय पूर्ण रूपमा बगेका छन् भने केही विद्यालय अस्थायी रूपमा राहत शिविर बनेका कारण लामो समयसम्म सञ्चालन हुन सकेनन्। स्थानीय तहले प्रभावित विद्यार्थीलाई अन्य विद्यालयमा समायोजन गर्ने तयारी थाले पनि सबै विद्यार्थी अझै नियमित कक्षामा फर्किन सकेका छैनन्।

रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित मोडर्न ट्रिनिटी पब्लिक विद्यालय बाढीले पूर्ण रूपमा बगाएपछि त्यहाँ अध्ययनरत २१५ विद्यार्थी विद्यालयविहीन बनेका छन्। कक्षा–२ मा अध्ययनरत कश्मिर थापाले विद्यालय नै नहुँदा पढाइ रोकिएको बताए।

विद्यालयका प्रिन्सिपल सुरज डंगोल बाढी आएको जानकारी पाएपछि विद्यालयतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको विद्यालय स्रोतले जनाएको छ। बस चालक सुमन विश्वकर्माका अनुसार डंगोल विद्यालयमा कुनै विद्यार्थी बाँकी छन् कि भनेर हेर्न जाँदै थिए।

विद्यालय पूर्ण रूपमा नष्ट भएपछि विद्यार्थी मात्र होइन, शिक्षकहरू पनि अन्योलमा परेका छन्। शिक्षिका अनुजा अधिकारीले अभिभावकले निरन्तर विद्यालय सञ्चालनबारे जानकारी मागे पनि हालसम्म कुनै निर्णय हुन नसकेको बताइन्।

यस्तै, नुवाकोटको विदुर नगरपालिकास्थित उत्तरगया पब्लिक विद्यालय पनि बाढीबाट प्रभावित भएपछि पठनपाठन नियमित हुन सकेको छैन। सहप्रधानाध्यापक पवन शर्माका अनुसार ३७० भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयका करिब आधा विद्यार्थी अझै सम्पर्कमा आउन सकेका छैनन्।

विद्यालयका प्रबन्ध निर्देशक सुरज लावतले विद्यालय भवन र पूर्वाधारमा ठूलो क्षति पुगेकाले तत्काल पुनः सञ्चालन सम्भव नभएको बताए। उनका अनुसार सुरक्षित रहेका विद्यार्थीलाई नजिकका सरकारी तथा निजी विद्यालयमा अध्ययन गर्ने वातावरण मिलाउने प्रयास भइरहेको छ।

भोटेकोशी बाढीले रसुवामा मोडर्न ट्रिनिटी पब्लिक विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, मालिकादेवी आधारभूत विद्यालय तथा मालिका आधारभूत विद्यालय पूर्ण रूपमा नष्ट भएका छन्। नुवाकोटमा उत्तरगया पब्लिक विद्यालय, चेतना आधारभूत विद्यालय, गणेश सिंह स्मृति आधारभूत विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय र त्रिशूली कम्युनिटी बोर्डिङ विद्यालयमा पनि ठूलो क्षति पुगेको छ।

यसबीच, राहत शिविरका रूपमा प्रयोग गरिएका केही विद्यालयमा भने पुनः पठनपाठन सुरु भएको छ। रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयमा करिब दुई सातापछि कक्षा सञ्चालन गरिएको छ। प्रधानाध्यापक माधव लामिछानेका अनुसार विद्यालय परिसरमा राहत वितरण र अस्थायी शिविर सञ्चालन भइरहेका कारण पठनपाठन रोकिएको थियो। अहिले कक्षा सञ्चालन भए पनि विद्यालयका केही भवनमा अझै विस्थापित परिवार बसिरहेका छन्।

शिवालय आधारभूत विद्यालयमा पनि अस्थायी शिविर अन्यत्र सारिएपछि भदौ २६ गतेदेखि पठनपाठन पुनः सुरु गरिएको छ।

उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले पूर्ण रूपमा नष्ट भएका विद्यालयका विद्यार्थीलाई नजिकका सरकारी तथा निजी विद्यालयमा समायोजन गर्ने काम भइरहेको बताए। उनका अनुसार सबै विद्यार्थी अझै सम्पर्कमा नआएकाले व्यवस्थापन प्रक्रिया जारी छ।

विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले पनि प्रभावित विद्यार्थीलाई अस्थायी रूपमा पायक पर्ने विद्यालयमा भर्ना गर्ने व्यवस्था गरिएको जानकारी दिइन्। उनका अनुसार क्षति नभएका विद्यालयमा भदौ २४ गतेदेखि र राहत शिविर रहेका विद्यालयमा असोज १ गतेदेखि पठनपाठन पुनः सञ्चालन गरिएको छ।

स्थानीय तहका अनुसार बाँकी विद्यार्थीको खोजी तथा विद्यालय पुनर्स्थापनाको तयारी जारी रहेको छ। बाढीबाट पूर्ण रूपमा क्षति पुगेका विद्यालयको पुनर्निर्माणका लागि आवश्यक योजना र स्रोत व्यवस्थापनबारे छलफल भइरहेको जनाइएको छ।

सम्बन्धित समाचार

सबै