काठमाडौँ, वैशाख १२ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि ३७ रनको महत्वपूर्ण जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै प्रतिद्वन्द्वीलाई दबाबमा राख्दै जित हात पारेको हो ।

जितका लागि २०१ रनको लक्ष्य पछ्याएको युएई ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १६३ रनमा सीमित भयो । युएईका लागि हरप्रित सिंहले सर्वाधिक ३९ रन बनाए भने कप्तान मोहम्मद वासिमले ३४ रन जोडे । आकाशदीप नाथले ३० रन बनाउँदा आर्यान्स शर्मा र निलांश केसवानीले समान १८/१८ रन योगदान गरे ।
नेपालका बलरहरू खेलभर हाबी रहे । करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ९.२ ओभरमा मात्र १९ रन खर्चेर चार विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै २०० रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै ७५ रन बनाए । उनले ९० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।
अन्य खेलाडीहरूमा कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २० रन जोडे । आरिफ शेख र सोमपाल कामीले समान १५/१५ रन बनाए भने भीम सार्कीले १० रन थपे । आशिफ शेख ७ रनमा आउट हुँदा कप्तान रोहित पौडेल र सन्दीप लामिछाने दुई–दुई रनमै पेभेलियन फर्किए ।
युएईका बलर अजय कुमार र जुनैद सिद्दिकीले तीन–तीन विकेट लिए । तनवीरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एक–एक विकेट लिए ।
जितसँगै नेपालले २१ खेलबाट १४ अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा आफ्नो स्थिति कायम राखेको छ । युएई भने १० अङ्कसहित पुछारमा रहेको छ ।
नेपालका लागि एकदिवसीय मान्यता जोगाउन आगामी खेलहरू झन् महत्वपूर्ण बनेका छन् । नेपालले अब यही सिरिजमा ओमान, युएई, अमेरिका र स्कटल्यान्डसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोटका लागि भइरहेको प्रतिस्पर्धामा शीर्ष चार टोलीले सोझै स्थान बनाउनेछन् भने बाँकी टोलीले प्लेअफ खेल्नुपर्ने व्यवस्था छ ।
