काठमाडौँ जेठ ११ गते । नेपालस्थित चिनियाँ राजदूतावासले पछिल्लो समय सामाजिक सञ्जालमा चीनलाई जोडेर फैलाइएका भ्रमपूर्ण प्रचारबाजीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एक अज्ञात चिनियाँ नागरिकले नेपाली पत्रकार र राजनीतिज्ञविरुद्ध नकारात्मक सामग्री फैलाउन घुस अफर गरेको भनी आएका दाबीहरूलाई दूतावासले पूर्ण रूपमा खारेज गरेको छ।

दूतावासका प्रवक्ताका अनुसार यस्ता आधारहीन हल्लाहरूको मुख्य उद्देश्य चीनको छवि बिगार्नु र दुई देशबीचको सम्बन्धमा आँच पुर्याउनु हो। चीनले सधैँ अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति लिँदै आएको र नेपालको सार्वभौमिकता तथा अखण्डताको सम्मान गरेको विज्ञप्तिमा उल्लेख छ।
चीनले यस घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल सरकारका सम्बन्धित निकायहरूसँग एक ‘गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान’ को माग गरेको छ। छानबिनबाट दोषी ठहरिने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउन आग्रह गर्दै दूतावासले सुरक्षा र कानुन कार्यान्वयनका क्षेत्रमा नेपालसँग सहकार्य गर्न आफू तयार रहेको समेत प्रष्ट पारेको छ। साथै, दूतावासले जनमानसलाई यस्ता तथ्यहीन र अपुष्ट हल्लाहरूको पछि नलाग्न अपिल गरेको छ।
