स्कटल्यान्डमाथि नेपालको सहज जित, सन्दीप लामिछाने ले रचे इतिहास

0 Shares

काठमाडौं, जेठ ४ गते । नेपाल राष्ट्रिय क्रिकेट टोली ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमाथि शानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली लाई ६ विकेटले पराजित गरेको हो ।

यस खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमानसमेत कायम गर्नुभयो । तीन विकेट लिएसँगै उहाँ सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने खेलाडी बन्न सफल हुनुभयो । सन्दीपले ७३ खेलमै उक्त उपलब्धि हासिल गर्दै मिचेल स्टार्क को कीर्तिमान तोड्नुभयो ।

जितसँगै नेपाल २७ खेलबाट २२ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल सातौँ स्थानमा थियो । स्कटल्यान्ड भने ३१ खेलबाट ३८ अङ्कसहित शीर्ष स्थानमा कायम छ । संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोली २६ खेलबाट ३६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । नेपालले अब यस सिरिजको अन्तिम खेल जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।

एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै एक सय ९९ रन बनाएर सहज जित निकालेको हो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलइशान पाण्डे ले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

रोहितले अविजित ७४ रन बनाउने क्रममा ९८ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्नुभयो । उहाँको यो एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको १२औँ अर्धशतक हो । इशानले ६१ बलमा पाँच चौका र दुई छक्कासहित ५५ रन जोड्नुभयो । ओपनर आशिफ शेख ले २९ तथा कुशल भुर्तेल ले २८ रन बनाउनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९ दशमलव १ ओभरमा एक सय ९४ रनमा समेटिएको थियो । स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेन ले सर्वाधिक ७३ रन बनाउनुभयो । उहाँले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गर्नुभयो । माइकल इङग्लिस ले ५१ रन जोड्नुभयो ।

नेपालका लागि ललित राजवंशी ले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिनुभयो । सन्दीपले तीन तथा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामीनन्दन यादव ले समान एक–एक विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका ललित प्लेयर अफ दि म्याच घोषित हुनुभयो ।

विश्वकप ग्लोबल छनोट प्रतियोगितामा स्थान बनाउन नेपालले अब बाँकी सबै नौ खेल जित्नुपर्ने अवस्था रहेको छ । यद्यपि, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन भने नेपाल शीर्ष ६ भित्र रहन आवश्यक छ ।

सम्बन्धित समाचार

सबै