ब्रिक्स शिखर सम्मेलन : साझा मुद्रा तत्काल नबनाउने

0 Shares

काठमाडौं, २८ भदौ ।  भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स (BRICS) शिखर सम्मेलन आइतबार अन्तिम चरणमा पुगेको छ। सम्मेलनको अन्तिम दिन सदस्य राष्ट्र तथा आमन्त्रित देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरू सहभागी हुने खुला बैठक बस्दैछ। बैठकमा विश्व अर्थतन्त्र, व्यापार, डिजिटल भुक्तानी, विकास सहकार्य, जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई) र विश्वव्यापी सुरक्षा लगायतका विषयमा छलफल हुने कार्यक्रम छ।

सम्मेलनको समापनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार देशका नेतासँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा व्यापार, लगानी, प्रविधि, ऊर्जा र आपसी सहकार्य विस्तारका विषयमा केन्द्रित छलफल हुने जनाइएको छ।

सम्मेलनको पहिलो दिन भारतले ब्रिक्स राष्ट्रहरूको साझा मुद्रा तत्काल बनाउने कुनै प्रस्ताव नरहेको स्पष्ट पारेको थियो। भारतको विदेश मन्त्रालयले सदस्य राष्ट्रहरूबीच स्थानीय मुद्रामा व्यापार र भुक्तानी प्रणाली विस्तार गर्ने विषयमा भने निरन्तर छलफल भइरहेको जनाएको छ। यसको उद्देश्य अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउनु, कारोबार लागत घटाउनु र अमेरिकी डलरमाथिको निर्भरता क्रमशः कम गर्नु रहेको बताइएको छ।

यसैबीच, सम्मेलनका क्रममा ब्रिक्स सदस्य राष्ट्रहरूले ‘नयाँ दिल्ली घोषणापत्र’ सर्वसम्मत रूपमा स्वीकृत गरेका छन्। घोषणापत्रमा विश्व शान्ति, बहुपक्षीय सहकार्य, दिगो विकास, आर्थिक साझेदारी र आतंकवादविरुद्ध संयुक्त प्रतिबद्धता व्यक्त गरिएको छ।

घोषणापत्रमा रुस, चीन, भारतसहितका सदस्य राष्ट्रहरूले पहलगाम आतङ्ककारी हमलाको कडा निन्दा गर्दै आतंककारी समूहलाई आर्थिक सहयोग, सुरक्षित आश्रय तथा संरक्षण उपलब्ध गराउने पक्षविरुद्ध संयुक्त रूपमा कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। साथै, आतंकवादको वित्तीय स्रोत नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

पश्चिम एसियामा बढ्दो तनावका बीच इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता सदस्य राष्ट्रहरूबीच विभिन्न विषयमा मतभिन्नता हुँदाहुँदै पनि साझा घोषणापत्र जारी हुनु सम्मेलनको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यसपटकको सम्मेलनमा डिजिटल भुक्तानी प्रणाली र डिजिटल मुद्राबीच अन्तरआबद्धता (Interoperability) बढाउने विषयले पनि विशेष प्राथमिकता पाएको छ। सदस्य राष्ट्रहरूले एकअर्काको डिजिटल भुक्तानी प्रणाली जोड्ने, सीमापार रकम स्थानान्तरणलाई छिटो र सस्तो बनाउने तथा स्थानीय मुद्रामा व्यापार विस्तार गर्ने दिशामा सहकार्य गर्ने सहमति जनाएका छन्।

विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा ब्रिक्सको प्रभाव बढ्दै गइरहेका बेला सदस्य राष्ट्रहरूले वैकल्पिक आर्थिक संरचना निर्माण, स्थानीय मुद्रामा कारोबार विस्तार र विकासशील राष्ट्रहरूको आवाजलाई थप सशक्त बनाउने प्रयासलाई यस सम्मेलनले नयाँ गति दिएको छ। सम्मेलनका अन्तिम निर्णय र घोषणाले आगामी दिनमा विश्व आर्थिक तथा कूटनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै