काठमाण्डाैं २१ फागुन । आईसीसी टी–२० विश्वकप २०२६ को उपाधि भिडन्तमा घरेलु टोली भारत र न्युजिल्यान्ड आमनेसामने हुने भएका छन्। बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले इंग्ल्यान्डलाई रोमाञ्चक प्रतिस्पर्धामा ७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको इंग्ल्यान्डलाई भारतले ७ विकेट गुमाउँदै २५३ रनको विशाल लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले कडा संघर्ष गरे पनि ७ विकेट गुमाएर २४६ रनमै सीमित रह्यो।
इंग्ल्यान्डका लागि ज्याकब बेथेलले उत्कृष्ट शतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै १०५ रनको शानदार इनिङ खेले। तर अन्य ब्याटरले राम्रो साथ दिन नसक्दा उनको शतक निरर्थक बन्न पुग्यो।
अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितका लागि ३० रन आवश्यक थियो। सो ओभरमा जोफ्रा आर्चरले शिवम दुबेले गरेको बलिङमा तीन छक्का प्रहार गर्दै २२ रन जोडे पनि टोलीलाई जितसम्म पुर्याउन पर्याप्त भएन। अन्तिम समयमा बेथेल रनआउट भएपछि इंग्ल्यान्डको आशा समाप्त भएको थियो।
त्यसअघि भारतका लागि ओपनर सन्जु सामसनले ४२ बलमा ८ चौका र ७ छक्कासहित ८९ रनको विस्फोटक इनिङ खेले। अभिषेक शर्मा ९ रनमै आउट भए पनि इशान किशनले १८ बलमा ३९ रन बनाउँदै राम्रो सुरुवात दिलाए।
सामसन र किशनबीच दोस्रो विकेटका लागि ४५ बलमा ९७ रनको तीव्र साझेदारी भएपछि भारतको स्कोरले गति लिएको थियो। मध्यक्रममा शिवम दुबेले २५ बलमा ४३ रन बनाए भने हार्दिक पाण्ड्याले १२ बलमा २७ रन जोड्दै टोलीको स्कोर मजबुत बनाए। तिलक वर्माले पनि ७ बलमा ३ छक्का प्रहार गर्दै २१ रन थपे।
बलिङतर्फ इंग्ल्यान्डका विल ज्याक्स र आदिल राशिदले समान दुई–दुई विकेट लिए। जोफ्रा आर्चरले एक विकेट लिए पनि उनी महँगा सावित भए। उनले चार ओभरमा ६१ रन खर्चिएका थिए।
यस जितसँगै साविक विजेता भारतले फाइनलमा स्थान बनाएको छ। अब आगामी आइतबार अहमदाबादमा हुने फाइनल खेलमा भारतले न्युजिल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। क्रिकेट प्रेमीहरूका लागि बहुप्रतीक्षित यो फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।













