संस्थागत मूल्याङ्कनमा कर्णालीकै उत्कृष्ट नारायण नगरपालिका

0 Shares

दैलेख, भदौ ९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको संस्थागत स्वमूल्याङ्कन (लिजा) नतिजामा दैलेखको नारायण नगरपालिका कर्णाली प्रदेशमै पहिलो बनेको छ । कर्णालीका १० जिल्लाका ७९ स्थानीय तहबीच भएको प्रतिस्पर्धामा नारायण नगरपालिकाले ८८.२५ अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेको नगरप्रमुख लोमन शर्माले जानकारी दिनुभयो ।

जिल्ला स्तरमा भने दुल्लु नगरपालिका ८२.७५ अंकसहित दोस्रो र महाबु गाउँपालिका ८१.५० अंकसहित तेस्रो स्थानमा रहे । त्यसपछि क्रमशः डुङ्गेश्वर, भगवतीमाई, गुराँस, चामुण्डाविन्द्रासैनी, भैरवी, आठबिस, नौमुले र ठाँटीकाँध स्थानीय तह रहेका छन् ।

तर, पुरस्कारजस्तै मानिएको यो उपलब्धिसँगै नगरवासी भने खुशी छैनन् । कारण– नगर बजार नै अँध्यारो छ ।

‘नगर उज्यालो’ कार्यक्रम अँध्यारोमा

नारायण नगरपालिकाले ‘नगर उज्यालो कार्यक्रम’ अन्तर्गत ७९ लाख रुपैयाँ खर्च गरेर ठालुडाँडादेखि खुर्सानीबारीसम्म सौर्यबत्ती र सडकबत्ती जडान गरेको थियो । तर बत्ती केही दिनमै निभेपछि अहिले बजार क्षेत्र फेरि अँध्यारो बनेको छ ।

व्यवसायी सुन्दरकुमार थापा भन्नुहुन्छ, “बत्ती बल्दा व्यवसाय गर्न सजिलो भएको थियो, तर अब फेरि अँध्यारो भएपछि हैरानी बढेको छ ।”
गणेशचोकका कृष्ण बन र हेमराज अधिकारीले पनि उस्तै समस्या व्यक्त गर्दै भने, “विद्युत् हुँदा सडकबत्ती बल्छ, तर विद्युत् नभएको बेला निभ्ने गर्छ । यो त मूल उद्देश्य विपरीत भयो ।”

समाधानका प्रयास

नारायण नगरपालिकाका इन्जिनियर हिक्मत रोकायाका अनुसार नगरप्रमुखकै निर्देशनमा विद्युत् प्राधिकरणका इन्जिनियरहरूको सहयोगमा सडकबत्ती जडान गरिएको हो ।
नगरप्रमुख लोमन शर्माले भने, “सौर्यबत्तीले अपेक्षित रूपमा काम नगरेपछि वैकल्पिक रूपमा सडकबत्ती जडान गरिएको हो । अब सौर्यबत्तीलाई निरन्तरता दिई बजारको अँध्यारो हटाइन्छ,” भन्ने प्रतिबद्धता जनाउनुभयो ।

संस्थागत मूल्याङ्कनमा उत्कृष्ट नतिजा ल्याएको नारायण नगरपालिका अब स्थानीय नागरिकलाई व्यवहारमै सेवा दिनुपर्ने दबाबमा परेको छ । ‘कागजमा उत्कृष्ट’ नगरपालिकाले ‘मैदानमा पनि उत्कृष्ट’ सावित गर्न सक्ने वा नसक्ने भन्ने प्रश्नमा अहिले नगरवासीको चासो बढेको छ ।

सम्बन्धित समाचार

सबै