हुम्ला, वैशाख ६ गते । सिमकोट–नेपालगन्ज हवाई मार्गको भाडा एकैपटक झण्डै २३ प्रतिशतले वृद्धि भएपछि हिमाली जिल्ला हुम्लाका यात्रु थप मारमा परेका छन्। हवाई इन्धनको मूल्य वृद्धि भएसँगै भाडा बढाइएको सम्बन्धित एयरलाइन्सहरूले जनाएका छन्।

नेपाल एयरलाइन्सका अनुसार सिमकोटदेखि नेपालगन्जसम्मको नयाँ भाडा प्रतियात्रु ११ हजार ८१४ रुपैयाँ पुगेको छ। यसअघि यही रुटमा ९ हजार रुपैयाँ मात्र लिँदै आएकोमा हाल २३.८२ प्रतिशतले वृद्धि गरिएको सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले जानकारी दिए।
निजी क्षेत्रका एयरलाइन्सहरूले पनि भाडा बढाएका छन्। तारा एयर र समिट एयरले प्रतियात्रु ११ हजार ५०० रुपैयाँसम्म लिइरहेका छन् भने सीता एयरले करिब ११ हजार ४०० रुपैयाँ भाडा निर्धारण गरेको छ। अधिकांश निजी एयरलाइन्सहरूले चार्टर उडानलाई प्राथमिकता दिँदै आए पनि सिमकोट–नेपालगन्ज रुटमा नियमित उडान सञ्चालन गर्दै आएका थिए।
यता, पछिल्ला दुई दिनदेखि हुम्लामा हवाई सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। नियमित उडान गर्ने जहाजहरू नेपालगन्जमा उपलब्ध नभएका कारण उडान प्रभावित भएको जनाइएको छ। उडान अवरुद्ध हुँदा सिमकोट र नेपालगन्ज दुवैतर्फका यात्रु अलपत्र परेका छन् भने अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने सर्वसाधारण थप समस्यामा परेका छन्।
हवाई सेवा अवरुद्धसँगै जिल्लामा इन्धन अभाव पनि चर्किन थालेको छ। निर्माण व्यवसायी सरोज रावतका अनुसार पेट्रोल र डिजेल पाउन कठिन भएको छ। फाट्टफुट्ट रूपमा पाइए पनि डिजेल प्रतिलिटर २३६ रुपैयाँ र पेट्रोल २८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
इन्धन अभावले निर्माण कार्य, ढुवानी सेवा तथा दैनिक जनजीवनमा प्रत्यक्ष असर पारेको स्थानीयले बताएका छन्। हवाई सेवा नियमित नहुँदा खाद्यान्न, औषधि लगायत अत्यावश्यक सामग्रीको आपूर्ति पनि प्रभावित हुने चिन्ता बढेको छ।
स्थानीयवासीले तत्काल हवाई सेवा सुचारु गर्न र बढेको भाडा नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। हिमाली जिल्लामा वैकल्पिक यातायातको अभावका कारण हवाई सेवा नै जीवनरेखा भएकाले यसको नियमितता र पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
