अाज फेरि दशैँकाे याद आएको छ। गाउँका बाटाहरूले सायद आफ्ना पुराना पाइला सम्झिरहेका छन्। आँगनहरू लिपपोत भएर चिटिक्क बनेका होलान्। घरका धुरीबाट निस्किएको धुवाँले गाउँको आकाशलाई फेरि आफ्नै सुवासले भरिरहेको होला। परदेशिएका छोराछोरी फर्किने बाटो आमाका आँखाले खोजिरहेका होलान्। यही बेला मेरो मन भने समयको दूरी पार गर्दै पुग्छ मेरो प्यारो जन्मभूमि , राम्नाकोट।

मेरो गाउँ… जहाँ मैले पहिलो पटक संसार देखेँ। जहाँ आमाको न्यानो काखबाट जीवनको यात्रा सुरु भयो। जहाँ बाबाको औँला समाउँदै हिँड्न सिकेँ। जहाँ माटोले मलाई चिनायो, प्रकृतिले मलाई हुर्कायो र गाउँका मानिसहरूले मलाई संस्कार दिए।
आज जीवनको यात्रामा धेरै ठाउँ पुगेँ, धेरै मानिस भेटेँ, धेरै कुरा सिकेँ। तर मेरो मनको सबैभन्दा सुन्दर तस्बिर अझै पनि त्यही राम्नाकोटको छ। किनकि मेरो गाउँ मेरो लागि एउटा ठाउँ मात्र होइन, त्यो मेरो पहिलो संसार हो, मेरो पहिलो पाठशाला हो, मेरो आत्माको आधार हो।
तलतिर बग्ने कर्णाली नदी, माथि आकाश छोएझैँ लाग्ने डङ्शिले हिमाल, बीचमा बसेको मेरो गाउँ कति सुन्दर थियो त्यो दृश्य। बिहान सूर्यको पहिलो किरण हिमालको टुप्पोमा पर्दा लाग्थ्यो, प्रकृतिले नै गाउँलाई आशीर्वाद दिइरहेको छ। कर्णालीको आवाजसँगै हुर्किएको मेरो बालापन आज पनि कानमा गुञ्जिरहन्छ।
गाउँमाथिको रानीवनको हरियाली, त्यहाँको शीतल हावा, चराचुरुङ्गीको आवाज , कर्णाली संगै सुसाउने जारकाेटकाे रसिलाे फाँट छहडे चिउरेनी , कलकल मन्द मुस्कानमा मुस्कुराइ रहेकाे कवा पुनेरा धारा , कवाकाे रसिलाे ज्यूलाे र वनभित्रको त्यो शान्त वातावरण आज पनि सम्झनामा ताजा छ। पानीमुलको चिसो पानी, बढ्डे थाडा, उपल वाड, खाेड, यी गाउका गोरेटाहरू, ती उकालो ओराली बाटाहरू माथि देहार र विसाैनामा वसेर सुसेली हाल्दै गाउकाे सुन्दर दृष्यसंग माेहनी लाउदै जहाँ हिँड्दा थकाइ लाग्थ्यो तर मन कहिल्यै थाक्दैनथ्यो।
मेरो जीवनको अर्को महत्वपूर्ण ठाउँ थियो कैफुको ज्ञानोदय माध्यमिक विद्यालय। त्यो विद्यालय केवल पढ्ने ठाउँ थिएन, त्यो त सपना देख्ने ठाउँ थियो। त्यहीँ मैले अक्षर चिनेँ। त्यहीँबाट संसार बुझ्ने यात्रा सुरु भयो। गुरुहरूको शिक्षा, साथीहरूको साथ र विद्यालयको वातावरणले जीवनलाई एउटा बाटो देखायो।
गाउँका ती ठाउँहरू अहिले पनि आँखाअघि नाच्छन् माथि दागा लेख, गाई चराउने ठाउ कटेरा, ह्याङ्गलु, पर बामागाड, बामा वन, भैँसीगुर, तान्ना वन । ती ठाउँहरू केवल भूगोलका नाम होइनन्, ती मेरो बालापनका अध्याय हुन्। त्यहाँका ढुंगा, माटो र रूखहरूसँग पनि मेरा आफ्नै कथा जोडिएका छन् ।
गाईबस्तु चराउँदै डाँडाकाँडा चहार्ने ती दिनहरू, साथीहरूसँग रमाउने ती क्षणहरू अाज पनी ताजै छन्, साँझ पर्दा घर फर्किने हतार, आमाको मायालु आवाज यी सबै सम्झँदा लाग्छ, जीवनका सबैभन्दा सुन्दर दिनहरू त त्यही गाउँमै छुटेछन्।
मेरो गाउँ धार्मिक र सांस्कृतिक रूपमा पनि आफ्नै पहिचान बोकेको गाउँ हो। विभिन्न देवी देवताका पैठहरूले गाउँको आस्था र विश्वासलाई जोगाइरहेका छन्। रम्मलमाडु पैठ, डाडामाडु पैठ, गुरामाडु पैठ, खोदाइमाडु पैठ, कवा माडु पैठ, बुर्का माडु पैठ जस्ता धार्मिक स्थलहरू गाउँको आत्मासँग जोडिएका छन्। त्यहाँका पूजा, परम्परा र संस्कृतिले पुस्तौँदेखि गाउँलाई एकतामा बाँधेको छ।
बिहान सबेरै जंगलतिरबाट आउने कोइलीको सुमधुर कुहुकुहु आवाज, माथि रहेको नासे डाँडाको शान्त सौन्दर्य, हावासँगै फैलिने वनको सुवास यी सबै मेरा लागि कुनै महँगो शहरका सुविधाभन्दा धेरै मूल्यवान् छन्।
आज समय फेरिएको छ। गाउँबाट धेरै मानिस अवसर खोज्दै टाढा गएका छन्। कतिपय आँगनहरू सुनसान भएका छन्। तर गाउँको माया कहिल्यै घटेको छैन। जन्मभूमिले कहिल्यै आफ्ना सन्तानलाई बिर्सँदैन। जसरी आमाले आफ्नो सन्तानलाई कुर्छिन्, त्यसरी नै गाउँले पनि आफ्ना छोराछोरीलाई फर्किने आशामा पर्खिरहेको हुन्छ।
कहिलेकाहीँ मनभित्र एउटा पीडा उठ्छ…….
मेरो गाउँले मलाई सबै दियो, तर मैले गाउँलाई के दिन सकीन ?
मेरो गाउँले मलाई जन्म दियो, परिचय दियो, शिक्षा दियो, संस्कार दियो, सपना दियो। कर्णालीको पानीले सहनशीलता सिकायो। डङ्शिले हिमालले उचाइको सपना देखायो। रानीवनले प्रकृतिसँग प्रेम गर्न सिकायो। विद्यालयले ज्ञान दियो। गाउँका मानिसहरूले माया दिए।
तर मैले अझै त्यो गाउँको ऋण तिर्न सकेको छैन।
म चाहन्छु मेरो गाउँका बालबालिकाले राम्रो शिक्षा पाऊन्। युवाले आफ्नै गाउँमा अवसर पाऊन्। गाउँको प्राकृतिक सुन्दरता संसारले चिनोस्। कर्णालीको किनारदेखि डङ्शिले हिमालसम्मको यो भूमि विकास र समृद्धिको नयाँ यात्रामा अघि बढोस्।
किनकि गाउँ केवल जन्मिने ठाउँ होइन, गाउँ हाम्रो पहिचान हो। गाउँ केवल माटो होइन, गाउँ हाम्रो इतिहास हो। गाउँ केवल सम्झना होइन, गाउँ हाम्रो भविष्य पनि हो।
आज मेरो मन फेरि त्यही राम्नाकोटको बाटो खोजिरहेको छ। मनले भनिरहेको छ
“फर्केर आऊ, तिम्रो गाउँ अझै तिमीलाई पर्खिरहेको छ। तिम्रो बालापनका ती पाखा पखेरा अझै तिम्रो पाइला खोजिरहेका छन्। तिम्रो आमाको आँगन अझै तिम्रो प्रतीक्षामा छ।”
मेरो गाउँले मलाई सबै दियो।
माटो दियो।
माया दियो।
संस्कार दियो।
सपना दियो।
जीवन दियो।
तर आज पनि मनभित्र एउटै आवाज गुञ्जिन्छ
“मेरो गाउँले सबै दियो, मैले अझै केही दिन सकिन…”
र यही अपूरोपन नै मेरो जीवनको सबैभन्दा ठूलो सम्झना, सबैभन्दा ठूलो जिम्मेवारी र सबैभन्दा ठूलो प्रेम बनेर सधैँ मेरो साथ रहनेछ।मेराे प्याराे राम्नाकाेट