आजदेखि हलमा तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा, ‘झिँगे दाउ २’ मुख्य आकर्षण

0 Shares

काठमाडौं, असोज २ गते । आज (शुक्रबार)देखि देशभरका चलचित्र हलमा तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। प्रदर्शनमा आएका फिल्महरू ‘झिँगे दाउ २’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो !’ हुन्।

फ्राइडे रिलिजको परम्पराअनुसार एकसाथ प्रदर्शनमा आएका यी तीनै फिल्म फरक–फरक विषयवस्तुमा आधारित छन्। निर्माण पक्षले दर्शकबाट सकारात्मक प्रतिक्रिया र राम्रो व्यापारको अपेक्षा गरेका छन्।

तीमध्ये ‘झिँगे दाउ २’ यस साताको मुख्य आकर्षणका रूपमा हेरिएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ। पारिवारिक कथा र हास्यरसलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले देशभरका मल्टिप्लेक्स हलमा उल्लेख्य सङ्ख्यामा शो पाएको छ।

फिल्मको बुधबार आयोजित प्रिमियरमा कलाकार, सञ्चारकर्मी तथा अन्य आमन्त्रित व्यक्तिहरूको सहभागिता रहेको थियो। प्रिमियरपछि अधिकांश सहभागीले फिल्मलाई मनोरञ्जनात्मक र पहिलो भागभन्दा अझ परिपक्व बनेको प्रतिक्रिया दिएका थिए।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ।

यस्तै, ‘कार्की साइँला’ मा अभिनेता जितु नेपाल यसअघि देखिँदै आएको हास्य भूमिकाभन्दा फरक चरित्रमा प्रस्तुत भएका छन्। राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्मले गाउँले भरियाको जीवन, संघर्ष, प्रेम, विवाह तथा सामाजिक विभेदका विषयलाई उठाएको छ। फिल्ममा जितु नेपालसँग प्रियाना आचार्यको मुख्य भूमिका रहेको छ।

बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्। दीप्सन लिम्बु र संकेत अगस्थीको संगीत रहेको फिल्मलाई कुबेर फिल्म्सले वितरण गरेको छ।

त्यसैगरी, ‘माया बस्छ कि के हो !’ राजु अधिकारीको निर्देशनमा बनेको प्रेमकथामा आधारित फिल्म हो। बेल्जियम, स्वीजरल्याण्ड, नेदरल्याण्ड तथा नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिएको यस फिल्मका निर्माता शरद अधिकारी र बहादुर सिंह तामाङ हुन्।

जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सोनाल, कस्मता, नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल र रिचा थापालगायत कलाकारको अभिनय रहेको छ। फिल्मको छायाङ्कन रबिन्द्र बरालले गरेका हुन् भने वितरण नेशनल सिने ग्रुपले गरेको छ।

तीनै फिल्मले फरक स्वादका कथा प्रस्तुत गरेकाले यस साताको नेपाली बक्स अफिसमा प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै